गोरखा, ११ असोज । उत्तरी गोरखाको मनास्लु हिमालस्थित तेस्रो आधार शिविरमा सोमबार गएको हिमपहिरामा परी घाइते भएका सबैको उद्धारको काम सकिएको छ ।
पहिरामा परेका १३ मध्ये १२ जनाको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।
हिजो चार जना घाइतेको उद्धार गरिएको भए पनि बाँकी रहेका थप आठ जनाको आज उद्धार गरिएको हो । सकुशल उद्धार गरिएकाहरुमा सोलुखुम्बु घर भएका ३५ वर्षीय किनु पेम्वा, २९ वर्षीय फुर्ते शेर्पा, सङ्खुवासभा घर भएका २७ वर्षीय सुकमान तामाङ, निमा शेर्पा, ४० वर्षीय निमादोर्जे शेर्पा र २५ वर्षीय दावा शेर्पा रहेको उनले बताए ।
त्यस्तै दोलखा घर भएका ४० वर्षीया फुरिता शेर्पा, ३७ वर्षीय लाक्पा तामाङ र ४४ वर्षीय जीतबहादुर शेर्पाको पनि सकुशल उद्धार गरिएको प्रहरी नायब उपरीक्षक लामिछानेले जानकारी दिए ।
आज उद्धार गरिएकामध्ये ४० वर्षीय निमादोर्जे शेर्पाको अवस्था भने गम्भीर रहेको उनले बताए । घाइते सबैलाई उद्धारपछि हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ पठाई सकिएको प्रहरी नायब उपरीक्षक लामिछानेको भनाइ छ ।
हिमपहिरामा परेका अन्य तीनजनाको अवस्था भने सामान्य रहेकाले उनीहरु आधार शिविरमा आएपछि पुनः काममा फर्किएका प्रहरी नायब उपरीक्षक लामिछानेले जानकारी दिए । उनले पहिरामा परी ज्यान गुमाएका सङ्खुवासभा जिल्ला घर भएका अनुप राईको शव निकाल्न भने कठिनाइ भइरहेको बताए ।






