इलाम, (अन्तु) ९ फागुन । इलाम भन्ने बित्तिकै धेरैको दिमागमा हरियो सुन्दर चिया बगानको तस्बिर आउँछ । लस्करै मिलेका चियाका बुट्टा, धुपि–सल्लाका रुख, मनै लोभ्याउने इलाम, कसलाई मन नपर्ला र ?
तर, मान्छेलाई लोभ्याउने इलाममा चिया बगान मात्रै छैनन् यहाँ । अन्य थुप्रै चिज पनि छन् । त्यसमध्ये एक हो, इलामको सूर्याेदय नगरपालिका ४ को श्रीअन्तु डाँडा । अन्तु इलाम जिल्लाको एक पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । अन्तु सूर्याेदयको दृश्यावलोकनका लागि प्रसिद्ध रहेको छ ।
इलामको प्रमुख पर्यटकीय क्षेत्र श्रीअन्तु आन्तरिक तथा बाह्य पर्यटकका लागि पहिलो रोजाइमा पर्ने स्थान हो । सूर्योदयको दृश्य अवलोकन, लाप्चा संस्कृति, सुनगाभा फुलखेती, लाली गुराँस, ग्रामिण जनजीवनको अवलोकनसँगै होमस्टे यहाँको मुख्य आकर्षण हुन् ।
पूर्वमा ग्रामिण पर्यटनको होमस्टे प्रणाली अन्तु बाटै सुरु भएको मानिन्छ । श्रीअन्तु पर्यटन समितिका अध्यक्ष धनकुमार आले यहाँ आउँने पर्यटकका लागि महत्वपूर्ण कुरा सूर्योदय नै भएको बताउँछन् । आलेले भने, ‘अन्तु पर्यटकीय क्षेत्रमा कम्तीमा ६ सय घर परिवारको बसोबास रहेको छ । यहाँ आइपुग्ने पर्यटकका लागि ४३ वटा होमस्टे दर्ता भएर सञ्चालनमा छन् ।’
अन्तु डाँडाबाट देखिने सूर्योदयको दृष्यसँगै अन्तु क्षेत्रको अन्तु पोखरी, स–साना चिटिक्क परेका चियाका बुट्टा, मनमोहक हरियाली चिया बगान भित्रका कटेज, गुफा पाताल, लस्करै मिलेका धुपिसल्लाका रुख र बिहानै उठेर हेर्ने सूर्याेदय र सूर्यास्तले पर्यटकलाई लोभ्याउने गरेको छ ।
विशेषगरी गर्मीयाममा पर्यटक अन्तु पुग्छन् । चिसो हावा पानीका कारण गर्मी छल्न पूर्वी तराई, भारत लगायत अन्य देशबाट समेत पर्यटक आउने गरेको होमस्टे संचालक बताउँछन् ।
यस क्षेत्रमा विकासका पूर्वाधारले गति लिएसँगै पर्यटकको आकर्षण बढेको छ । हरेक वर्ष कार्तिकदेखि पुस महिनासम्म सूर्योदय अवलोनका लागि उपयुक्त समय मानिन्छ । विभिन्न ठाउँबाट पुग्ने पर्यटकले सहज तरिकाले दृष्य अवलोकन गर्न पाउने गरी भ्यू टावर पनि निर्माण गरिएको छ ।
विकासको फड्को मार्दै पर्यटनको विकासमा लागेका अन्तुवासीलाई सरकारको थप सहयोग भए अन्तु पूर्वको उत्कृष्ट पर्यटकीय गन्तब्य बन्नेमा कुनै दुईमत छैन । साथै नेपाल भ्रमण वर्ष २०२० मा नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने अभियान पनि सार्थक हुने सक्छ ।