झापा, २६ असार । मेचीनगरको एक मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेर घाइते भएका बालकको मृत्यु भएको छ ।
मेचीनगर नगरपालिका वडा नं.१० धुलाबारीमा रहेको सानो साथी किन्डर गार्टेन (मन्टेश्वरी)को शौचालयको सेफ्टी ट्यांकीमा डुबेर गम्भीर घाइते भएका आठ बर्षीय तान्चोक लिम्बूको उपचारका क्रममा मृत्यु भएको हो ।
मेचीनगर-१० धुलाबारी निवासी लिम्बूको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा आज बिहान १०:३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सोमवार पढ्न गएका बालक विद्यालयको शौचालयको सेप्टिक ट्यांकीमा डुबेर घाइते भएका थिए ।
ट्यांकीबाट उद्धार गरेर उनलाई उपचारका लागि हस्पिटल लगिएको थियो । स्कुलको शौचालयको ढोकैमा रहेको सेप्टिक ट्यांकीको प्वाल मक्किएको प्लाईउडले छोपिएको थियो । शौचालय जाने क्रममा बालक त्यही मक्किएको प्लाइउडबाट गहिरो ट्यांकीमा डुबेका थिए ।





