Logo

मन्त्रालयको काम छाडेर अन्यत्र नभुल्नुस्: मन्त्री बस्नेत



काठमाडौँ, ५ पुस । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकार र मन्त्रालयका महत्वपूर्ण काम छाडेर अन्यत्र काममा व्यस्त नहुन मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् ।

ऊर्जा मन्त्रालयमा आज मन्त्रालय र मातहतका उच्च कर्मचारीको बैठकलाई सम्बोधन गर्दै उनले जनताको कामलाई प्रभावकारी रुपमा स्म्पादन गर्न र कुनै गुनासो नआउने वातावरण बनाउन आग्रह गरेका हुन् ।

मन्त्री बस्नेतले भने, “मन्त्रालयको काममा व्यस्त हुनुस् । अनावश्यक भेटघाट बन्द गर्नुस् ।” नीतिगत, कानुनी एवम् संरचनागत रुपमा के कस्ता समस्या परे, त्यसको वस्तुनिष्ठ जानकारी दिन आग्रह गर्दै उनले मातहतका सबै निकाय इमान्दार भएर लागेको खण्डमा परिणाम निस्कने बताए । मन्त्री बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियमितरुपमा १० बजे नै कार्यालयमा उपस्थित भएर काम सुरु गर्ने क्रम सुरु गरिसकेको जानकारी दिदै यस मन्त्रालयमा पनि सोहीअनुसार गर्न निर्देशन दिए ।

मन्त्री बस्नेतले विकास निर्माणको काममा परेको समस्या समाधानका लागि नीतिगत रुपमा गर्नुपर्ने सुधार के-के हुन, वन क्षेत्र प्रयोगको विषयमा के कस्ता निर्णय गर्नुपर्ने हो र भूमि वा प्रसारण लाइन निर्माणमा देखिएका जटिलता के कस्ता हुन्, त्यसको स्पष्ट खाका प्रस्तुत गर्नसमेत मातहतका निकायलाई निर्देशन दिए । ऐन नै संशोधन गर्नुपर्ने भए पनि तत्काल प्रक्रिया अगाडि बढाउन उनले आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्