काठमाडौँ, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयगत कामका प्रगति र भावी योजनाका सम्बन्धमा आज सङ्घीय मन्त्रालयका सचिवहरूलाई निर्देशन दिँदै हुनुहुन्छ ।
प्रधानमन्त्री ओलीले सबै सचिवसँग मन्त्रालयगत कामका विद्यमान अवस्था र भावी योजनाका विषयमा यही साउन १३ गते ब्रिफिङ लिनुभएको थियो ।
सचिवहरूले आफ्नो मन्त्रालयको कार्यप्रगति, वस्तुस्थिति, सुधारको मार्गचित्र, भावी कार्य योजन, कार्यक्रम कार्यान्वयनका चुनौती र समाधानबारे प्रस्तुति दिनुभएको थियो ।
प्रधानमन्त्रीको सचिवालयकाअनुसार आज दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सबै सचिवहरूलाई बोलाइएको छ । बैठकमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव र सबै सचिवहरु सहभागी हुने जनाइएको छ । ओलीले प्रधानमन्त्री भएपछि पहिलो पटक यस प्रकारको बैठक भएको हो ।







