काठमाडौँ, २२ पुस । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले विश्वासको मत र मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै सरकारले तीव्र गतिमा काम गर्ने बताएका छन् ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले राष्ट्रिय अभिभारा पूरा तथा ज्वलन्त समस्या समाधान गर्न गतिशील ढङ्गले काम अगाडि बढाउने विश्वास दिलाएका हुन् ।
“हामी केही महत्वपूर्ण राष्ट्रिय अभिभारा पूरा गर्न केन्द्रित छौँ”, उनले भने, “सरकार गठन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारलाई पूर्णता दिने प्रक्रियामा हुनुहुन्छ ।” सरकारले पूर्णता पाएसँगै राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सरकार केन्द्रित हुने उनको भनाइ छ ।







