Logo

मन्त्रिपरिषद् बिस्तारपछि सरकारको कामले गति लिन्छ: प्रधानमन्त्री



काठमाडौँ, १७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले पूर्णता पाएपछि नेपाली जनता र इतिहासमा नै नयाँ रेकर्ड बनाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीको पाँचौ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सुशासन र समृद्धिका पक्षमा सरकारले कामको सुरुआत गरिसकेको र त्यसलाई अब थप गति दिने विश्वास दिलाएका हुन् ।

प्रधानमन्त्रीले भने, “आज मन्त्रिपरिषद् बिस्तार भएपछि सरकारका कामले गति लिन्छ । यसपटक इतिहासमा गौरव गर्न सकिने केही काम गर्न खोज्दैछु । केही ठूला आयोजना र राष्ट्रले गौरव गर्ने निर्णय गर्नेछु ।”

सो अवसरमा प्रधानमन्त्रीले वामपन्थी विचार बोक्ने कर्मचारी अरूभन्दा इमान्दार, कर्तव्यनिष्ठ र कर्मठ हुनुपर्ने बताउँदै त्यसका लागि प्रतिस्पर्धा गर्न कर्मचारीलाई आग्रह गरे । जनतालाई सुशासनको अनुभूति दिलाउने काम कर्मचारीको भएकाले त्यसलाई इमान्दार भएर कर्तव्यपथमा अगाडि बढ्नसमेत आग्रह गरेका थिए ।

कर्मचारीको टे«ड युनियन चाहिन्छ कि चाहिँदैन भन्ने बहस भइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले विगतको अनुभव र राजनीतिक परिवर्तनमा कर्मचारीले खेलेको भूमिकालाई आत्मसात् गर्दै त्यसलाई कायम राखेर जानुपर्छ भन्ने पक्षमा आफू रहेको बताए । कर्मचारीतन्त्रमा रहेको बेथिती र अराजकता अन्त्य गर्दै जनतालाई गुणस्तरीय सेवा दिनसमेत उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्