Logo

मन्त्रिपरिषद् बैठक: तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख पठाउने निर्णय



काठमाडौँ, २८ फागुन । सरकारले गण्डकी प्रदेश, मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्तिका लागि सिफारिस गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयम आज बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त हुने प्रदेश प्रमुख पदहरुमा नियुक्तिका लागि मधेसमा सुमित्रा भण्डारी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाँको नाम मनोनयनका लागि सिफारिस गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

यसअघि मधेसमा हरिशङ्कर मिश्र, गण्डकीमा पृथ्वीमान गुरुङ र सुदूरपश्चिममा देवराज जोशी प्रदेश प्रमुखका रुपमा रहेका थिए ।

त्यसैगरी सरकारले मन्त्रिपरिषद्का समितिहरु गठन गरी समितिको समन्वय गर्न संयोजक तोकेको छ । राजनीतिक समितिको संयोजकमा प्रधानमन्त्री, आर्थिक पूर्वाधार समितिको संयोजकमा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार र यातायातमन्त्री, विधेयक समितिको संयोजकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री, प्रशासन समितिको संयोजकमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री र सामाजिक समितिको संयोजकमा उपप्रधानमन्त्री तथा स्वास्थ्य र जनसङ्ख्यामन्त्रीलाई तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्