Logo

मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री



काठमाडौँ, १२ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल सत्ता गठबन्धन दलबीच आइतबारसम्म मन्त्रालय बाँडफाँटमा सहमति जुटाएर सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा जुटेका छन् । प्रतिनिधिसभाबाट चैत ६ गते दोस्रोपटक विश्वासको मत लिएपछि प्रधानमन्त्री दाहालले शुक्रबारभित्रै मन्त्रिपरिषद् विस्तार गर्ने बताएका थिए । तर मन्त्रालय भागबन्डामा दलीय सहमति नजुट्दा दाहालले भनेअनुसार शुक्रबारसम्म मन्त्रिपरिषद् विस्तार हुन सकेन ।

सहमति जुटाउन सत्ता गठबन्धन दलबीच दुईपक्षीय, बहुपक्षीय छलफल र आन्तरिक गृहकार्य भने भइरहेको छ । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले पार्टी पदाधिकारी बैठकमा आइतबार साँझसम्म सत्ता गठबन्धन दलको बैठक राखेर सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेको बताएका छन् ।

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले सोमबारसम्म मन्त्रिपरिषद् विस्तार भइसक्ने दाबी गरेका छन् । पार्टी पदाधिकारी बैठकपछि पत्रकारसँग कुराकानी गर्दै पौडेलले भने, ‘पर्सि (सोमबार) सम्म क्याबिनेट विस्तार गरेर डेलिभरीका कुरामा अघि बढ्ने विषयमा छलफल भएको छ ।’

पदाधिकारी बैठकले प्रधानमन्त्री दाहाललाई गठबन्धनका सबै दलसँग अलगअलग र सामूहिक छलफल गरी मन्त्रालय भागबन्डामा सहमति जुटाउन सुझाव दिएको जानकारी पौडेलले दिए । उनले भने, ‘छिट्टै क्याबिनेट विस्तार हुन्छ ।’

प्रधानमन्त्री दाहाल प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई आठ मन्त्रालयसहित सरकारमा सहभागी गराउने योजनामा छन् । कांग्रेस त्यसका लागि करिबकरिब तयार रहेको देखिन्छ । कांग्रेसको कुल सिट संख्यालाई १० ले भाग गर्दा आउने भागफल बराबर मन्त्रालय दिनेरलिने तयारी छ । उसले पाउने मन्त्रालयमा भने बढी चासो रहेको माओवादीनिकट स्रोतको दाबी छ । प्रधानमन्त्री दाहाल कांग्रेसलाई अर्थ, परराष्ट्रसहितका मन्त्रालय दिने पक्षमा छन् ।

त्यस्तै सरकारको नेतृत्व गरेको माओवादी केन्द्र अहिलेकै संख्यामा मन्त्रालय लिने तयारीमा छ । प्रतिनिधिसभाको चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई तत्काल सरकारमा सहभागी नगराउने रणनीतिमा गठबन्धनका अन्य दल रहेको स्रोतको दाबी छ । कांग्रेस, माओवादीलगायत दलका शीर्ष नेता प्रतिनिधिसभा सदस्यको वैशाखमा हुने उपनिर्वाचनपछि रास्वपालाई सरकारमा सहभागी गराउने पक्षमा छन् । आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्