काठमाडौँ, २३ असार । नेकपा (माओवादी केन्द्र)ले गठबन्धन सरकारका सहभागी मन्त्रीलाई आफ्नो मन्त्रालयमा भए/गरेका सकारात्मक कामको विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।
पार्टी केन्द्रीय समितिको कमलादीमा जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा रहेर देश र जनताको पक्षमा भए/गरेका सकारात्मक कामको विवरण केन्द्रीय कार्यालयमा उपलब्ध गराउन निर्देशन दिए ।
वि.सं २०७८ असार २९ गते गठन भएको वर्तमान गठबन्धन सरकारमा माओवादीका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ, अर्थ, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, युवा तथा खेलकुद मन्त्रालय सम्हालेका छन् ।
यसमध्ये बजेट निर्माणको अन्तिम दिन अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेपछि अर्थमन्त्री जनार्दन शर्माले बुधबारमात्रै राजीनामा दिएका छन् । मन्त्रिपरिषद्मा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीका रूपमा बोधमायाकुमारी यादव पनि सहभागी रहेकी छन् ।
अध्यक्ष दाहालले वर्तमान सरकारमा माओवादीका तर्फबाट महत्वपूर्ण काम भएको भए पनि त्यसको व्यापक मात्रामा प्रचार-प्रसार हुन नसकेकामा चिन्ता व्यक्त गरेका थिए ।
उनले आफूले गरेका कामको सम्पूर्ण विवरण उपलब्ध गराउन मन्त्रीहरूलाई निर्देशन दिँदै देश र जनताको पक्षमा बढीभन्दा बढी इमान्दार भएर काम गर्न आग्रह गरेका हुन्।







