काठमाडौँ, २७ भदौ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मन्त्रीलाई चुनाव प्रचारप्रसार गर्न रोक लगाउने गरी जारी गरिएको निर्वाचन आचारसंहिता तत्काल हटाउन निर्वाचन आयोगसँग माग गरेका छन् ।
बहुदलीय राजनीतिक प्रणालीमा नेताहरू नै मन्त्री हुने हुनाले उनीहरूले चुनाव प्रचारप्रसार गर्न नमिल्ने भन्ने कुरा नहुने उल्लेख गर्दै त्यो प्रावधान तत्काल हटाउन निर्वाचन आयोगसँग उनको माग छ ।
सोमवार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उपाध्यक्ष श्रेष्ठले निर्वाचन आयोगले राज्यको स्रोतरसाधनको दुरुपयोग हुन नदिन भने निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्नुपर्ने स्पष्ट पारे । उनले भने, ‘आचारसंहितामा मन्त्रीहरूले चुनाव प्रचारप्रसार गर्न नपाउने भन्ने छ तर यो कुरा मिल्दैन । राजनीतिक प्रणाली बहुदलीय हुने, नेताहरू मन्त्री पनि हुने तर उनीहरूले आफू उम्मेदवार भएको अवस्थामा बाहेक चुनाव प्रचारप्रसार गर्न नपाउने कुरा उपयुक्त छैन । राज्य र सरकारको साधनको प्रयोग गरिएको छ कि छैन? त्यहाँ अनुगमन गर्न जरुरी छ तर मन्त्रीले चुनाव प्रचारप्रसार गर्न नपाउने भन्ने पनि हुन्छ र?’







