काठमाडौँ, ३ भदौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहदुर कुँवरले कर्मचारीबीचको विभेदलाई हटाउनुपर्नेमा जोड दिएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघको चौथो राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री कुँवरले कर्मचारी कर्मचारीबीचको विभेदलाई हटाई सबै कर्मचारीहरुमा समानता हुनुपर्ने बताएका हुन् ।
अस्थायी करार तथा ज्यालादारी कर्मचारीहरुकातर्फबाट आफ्नो मन्त्रालयमा डेलिगेसन पुगेको बताउँदै मन्त्री कुँवरले आफ्नोतर्फबाट त्यसबारे आवश्यक पहल भइसकेको जानकारी समेत दिए ।
‘अस्थायी करार र ज्यालादारी कर्मचारीहरुका आफ्नै ब्यथा छन । सँगैको साथी काम गरेको छ, रिटायर्ड हुँदा पेन्सन बुझेर गएको छ, उसको सामाजिक सुरक्षाको ग्यारेन्टी भएको छ, र केटाकेटीहरुको लालनपालन भएको छ, घरपरिवार सुरक्षित छन्’, मन्त्री कुँवरले भने, ‘अर्को सँगैको साथी बिसौँ वर्ष काम गरेको छ, अस्थायी छ, करारमा काम गरेको छ । तर उसले जागिरबाट फर्कदाखेरि रित्तो हात फर्कनुपर्ने अवस्था छ । यो कर्मचारी कर्मचारीबीचको विभेदलाई हटाउनुपर्छ ।’







