Logo

मन्त्री पदबाट हट्दा अझ बढी हाँसेर जान्छु: चाैधरी



काठमाडौँ, ३ साउन । सहरी विकासमन्त्री मेटमणि चौधरीले मन्त्री पदबाट हट्दा पनि आफू हाँसेरै जाने टिप्पणी गरेका छन् ।

मङ्गलवार सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले मन्त्री भएर आउँदा आफू हाँसेर आएको र जाने बेलामा त्योभन्दा अझ बढी हाँसेर जाने बताएका हुन् ।

बैठकमा सांसदहरूले निवर्तमान सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मन्त्रालयबाट बिदाइ हुँदा रोएकोतर्फ सङ्केत गर्दै मन्त्री चौधरीलाई हाँसेरै जान शुभकामना दिएका थिए । त्यसको जवाफ दिने क्रममा उनले जाने बेलामा आफू अझ बढी हाँसेर जाने बताए ।

मन्त्री चौधरीले मन्त्रीको रूपमा आफू सधैँ नरहने कुरा प्रष्ट्याउँदै पदमा रहुन्जेल सांसदहरूले दिएको सुझावलाई ग्रहण गरेर अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

उनले भने, ‘माननीयज्यूहरूले शुभकामना दिने बेलामा धेरै महत्त्वपूर्ण सुझावहरू दिनुभएको छ । आउँदा खुसी भएर आउने, जाने बेला रुने भनेर पनि भन्नुभएको छ । म मन्त्री सधैँभरि रही रहदिनँ । म आउँदा जति हाँसेको छु जाँदा त्योभन्दा बढी हाँसेर जान्छु ।’

प्रतिक्रिया दिनुहोस्