काठमाडौँ, १० असार । नेकपा एमाले विभाजित भएर माधव नेपालको नेतृत्वमा बनेको नेकपा (एकीकृत समाजवादी) मन्त्री हेरफेरको विषयमा आन्तरिक संघर्षमा फसेको छ । समाजवादीले मन्त्री हेरफेल गर्ने सूची प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाए पनि नयाँले मन्त्री हुन पाएका छैनन् । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री परिवर्तन गर्न नचाहेको आरोप समाजवादीका नेताले लगाउँदै आएका छन् ।
एमाले विभाजनमा माधव नेपाललाई दरो साथ दिएका रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठ, बिरोध खतिवडा लगायत सरकारमा गए । नेकपामा भएको अन्तरसंघर्षमै साथ दिएका कतिपयले अन्तिम समयमा नेपाललाई साथ दिएनन् तर ओलीका खास भनिएका प्रेम आले, किसन श्रेष्ठ लगायतले साथ दिँदा नेकपा एकीकृत दल बन्न सकेको थियो ।
एकीकृत समाजवादी गठन भएको करिब ७ महिनामा एकीकृत समाजवादीले स्थानीय चुनावमा प्रतिस्पर्धा गर्यो । पाँच दलीय सत्ता गठबन्धन गरेर मैदानमा उत्रिएको समाजवादीले त्यति राम्रो सफलता हात पार्न नसकेको स्वयं उक्त दलका अध्यक्ष नेपालले स्वीकार गरिसकेका छन् । तर, अहिले मन्त्री भएकाले सत्ता छाड्न नमान्दा र प्रधानमन्त्री देउवाले मन्त्री हेरफेरमा अनिच्छा देखाउँदा समाजवादीको निर्णय अलपत्र परेको छ ।
बहालावाला मन्त्रीले पद छाड्न नमानेको र पधानमन्त्रीले नयाँको नियुक्ति गर्न नमानेको विषयमा अध्यक्ष माधव नेपाल, बरिष्ठ नेता झलनाथ खनाललगायतका नेताले असन्तुष्टी व्यक्त गरेका छन् । समाजवादीका बैठक र छलफल मन्त्री हेरफेरको विवादमा केन्द्रित हुँदै गएको छ ।







