काठमाडौँ, २७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले मन्त्री बनाउनका लागि पार्टी नेतृत्वले रकम लिने गरेको भन्ने भनाइप्रति विश्वास गर्न नसकिने बताएका छन् ।
पार्टीका सभापति रवि लामिछानेले करोडौँ रुपैयाँ लिएर मन्त्री बनाउने गरेको चर्चा भइरहेका बेला सांसद झाले त्यो भनाइलाई आफूले विश्वास गर्न नसक्ने बताएका हुन् ।
सोमवार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले पार्टी सभापति लामिछानेले मन्त्री बनाउनका लागि रकम असुली गरेको पुष्टि गरेको देखाउन पनि चुनौती दिए ।
नेपाली कांग्रेसमा आबद्धहरूले सामाजिक सञ्जाल ट्विटरमा पार्टी नेतृत्वले शिक्षामन्त्री बनाउनका लागि आठ करोड रुपैयाँ लिएको भनेर लेखेको आफूले पनि देखेको उल्लेख गर्दै सांसद झाले पुष्टि गरेको देखाउनुपर्ने बताए । उनले पार्टी नेतृत्वले पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठसँग मन्त्री बनाउनका लागि साढे दुई करोड रुपैयाँ मागेको भन्ने कुरा पनि सत्य नभएको जिकिर गरेका थिए ।
मन्त्री बनाउनका लागि पार्टी नेतृत्वलाई दुई करोड रुपैयाँ दिनुपर्ने भन्दै व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडियो आइतवार सार्वजनिक भएपछि पार्टीका सांसद श्रेष्ठ निलम्बित भएका छन् । सांसद झाले भने पार्टी नेतृत्वबाट त्यस्तो काम नभएको बरु आरोप लगाउने कांग्रेस पार्टीभित्र भने त्यस्तो हुने गरेको प्रमाण आफूहरूसँग रहेको दाबी गर्दै दोषीलाई कारबाही गरेर देखाउन पनि कांग्रेस नेतृत्वलाई चुनौती दिए ।
उनले भने, ‘मन्त्री बनाउन पार्टी नेतृत्वले साढे दुई करोड रुपैयाँ मागेको थियो भन्ने कुरामा विश्वास गर्दिनँ । मैले पनि ट्विटरमा केही कांग्रेसीजनले शिक्षामन्त्री बन्नलाई आठ करोड रुपैयाँ माग्यो भनेर लेखेको देखेँ । त्यसमा म विश्वास गर्दिनँ । पैसा मागेको प्रमाण पेस गर्न म चुनौती दिन चाहन्छु ।’







