Logo

मन्त्री लिम्बूले भने: कोशी प्रदेशको नाम सच्याउनुपर्छ



काठमाडौँ, १५ असार । युवा तथा खेलकुमन्त्री एवं नेपाली कांग्रेसका नेता डिगबहादुर लिम्बूले कोशी प्रदेशको नाम सच्याउनुपर्ने बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नामकरणपछि कोशी प्रदेशमा समस्या उत्पन्न भइरहेको भन्दै यो समस्यालाई रोक्न आवश्यक रहेको बताए । उनले प्रदेशको नाम पुनर्विचार गर्नुपर्छ भनेर पार्टीको ध्यानाकर्षण गराएको पनि बताए ।

उनले नेपाली कांग्रेसको गतिविधि शून्य रहेको बेलामा विभिन्न राजनीतिक पार्टीहरु च्याउजस्तै उम्रिएको बताए । उनले पार्टीको रुचिमा नपरेको मन्त्रालय आफूलाई दिइए पनि पर्याप्त बजेट नदिएको प्रति असन्तुष्टि व्यक्त गरेका थिए ।

उनले युवा तथा खेलकुद मन्त्रालयमा गाडीमा तेल हालेर हिँड्ने पैसासमेत नभएको दाबी गरेका छन् ।

उनले भने, ‘अहिले कोशी प्रदेशमा समस्या उत्पन्न भएको अवस्था छ । त्यो विषयमा केन्द्रीय सभापतिज्यू र केन्द्रीय नेताहरु अनविज्ञ हुनुहुन्न । त्यो विषय त्यहाँका सांसद साथीहरुले उठाउनुभएको छ । त्यहाँ कांग्रेसमा आबद्ध साथीहरुलाई तपाईंहरू पहिचानविरोधी हो? तपाईहरु संघीयताविरोधी हो कि होइन, होइन भने प्रदेश १ को नाम राख्ने बेलामा जबरजस्ती रातारात किन कोशी प्रदेश राख्नुभयो भनेर हामीले फोनमा भनेका थियौँ । यो पुनर्विचार गर्नुपर्छ भनेर हामीले पार्टीको ध्यानाकर्षण गराएका छौँ । पार्टी के भन्छ सभापतिज्यूले भन्नुहोला । जनताको भावनाअनुसार जनताका कुरा सम्बोधन हुनेकुरा पार्टीभित्र आवाज उठ्छ कि उठ्दैन? पार्टीभित्र छलफल र बहस गरेर जनताको बीचमा जानुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्