युक्रेन, ७ वैशाख । युक्रेनको मरिपोल सहरमा रहेको एक मात्र सैन्य क्याम्पका कमान्डरले आफूहरूलाई सहयोग गर्न विश्व समुदायसँग आग्रह गरेका छन् ।
मेजर सेर्ही भोलिनाले एउटा भिडियो सन्देश पठाउँदै आफूहरूको क्याम्पमा रहेका झन्डै पाँच सय घाइते सेना र आश्रय लिइरहेका झन्डै एक लाख गैरसैनिकलाई मरिपोल सहरबाट बाहिर निकाल्न सहयोगका लागि आह्वान गरेको बीबीसीले जनाएको छ ।
रुसको रक्षा मन्त्रालयले मरिपोलमा रहेका सैनिकहरूलाई जीएमटी ११ अर्थात् नेपाली समयअनुसार आज बेलुकी पौने पाँच बजेसम्मको समय दिएको छ । सैन्य कमान्डरले रुसले दिने यो सम्भवतः अन्तिम समय हुन सक्ने भन्दै त्यहाँ रहेका घाइते सेना र गैरसैनिकलाई बाहिर निकाल्न सहयोगका लागि आग्रह गरेका हुन् । उनले आफूहरूले अन्तिम समयसम्म पनि आत्मसमर्पण भने नगर्ने बताएका छन् ।