काठमाडौँ, १ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई नेतृत्वमा बसिरहने रहर नभएको बताएका छन् ।
अध्यक्ष प्रचण्डले मंगलबार ‘जनयुद्ध दिवस’को कार्यक्रममा आफूलाई नेतृत्वमा बसिरहने लोभ नभएको बताएका हुन् । पूर्वमाओवादीलाई फेरि एकताबद्ध हुन आह्वान गरेका अध्यक्ष प्रचण्डले नेतृत्वमा जानका लागि पनि खुला रहेको सन्देश दिन यस्तो बताए ।
“म माओवादीबाट अलग हुनुभएका साथीहरूलाई आह्वान गर्न चाहन्छु । आउनुस् बसौँ, समीक्षा गरौँ । खुल्ला मनले आत्मालोचना गरौँ,” अध्यक्ष प्रचण्डले भने, “माओवादी युद्धका सहयात्री सबैले मलाई स्थापित गर्न सहयोग गर्नुभयो । अब मलाई नेतृत्वमा बसिराख्ने लोभ पनि छैन ।”
सर्वोच्च अदालतले जनयुद्ध दिवसलाई असंवैधानिक घोषणा गरेको र राजनीतिक प्रतिस्पर्धीले होच्याएकोप्रति अध्यक्ष प्रचण्डले असन्तुष्टि जनाए । त्यहीकारण माओवादीहरू पुन: संकल्पित हुनुपर्ने बताए ।
“२९औँ जनयुद्ध दिवस मनाउँदै गर्दा नयाँ संकल्प गर्नुपर्नेछ । जनयुद्ध नेपालको इतिहासको महान दूरगामी पहल थियो, छ र रहिरहनेछ,” अध्यक्ष प्रचण्डले भने, “त्यतिबेला पनि तिथिमिति तोक्ने, टिक्न सक्दैन भन्ने नेताहरू हुनुहुन्थ्यो । पत्याउन सकेका थिएनन् । अध्ययन गरेर नै तयारी गरिएको थियो ।”





