Logo

मलेसियामा विमान सडकमा दुर्घटना: १० जनाकाे ज्यान गयाे



मलेसिया, ३२ साउन । मलेसियाको मध्य सेलान्गोर राज्यमा बिहीवार एक सानो निजी विमान सडकमा ठाेकिँदा १० जनाको ज्यान गएको छ ।

विमान दुर्घटना हुँदा विमानमा सवार आठ जना र सडकमा मोटरसाइकल र कारमा सवार दुई जनाको ज्यान गएको स्थानीय प्रहरी प्रमुख मोहम्मद इक्बाल इब्राहिमले बताए ।

मलेसियाको नागरिक उड्डयन प्राधिकरणले एक विज्ञप्ति निकालेर विमानमा छ जना यात्रु र दुई जना चालक दलका सदस्य रहेका जनाएको छ । प्राधिकरणका प्रमुख नोराजमान महमुदका अनुसार विमान उत्तरी रिसोर्ट टापु लाङकावीबाट राजधानी क्वालालम्पुरको पश्चिममा रहेको सुल्तान अब्दुल अजिज शाह विमानस्थलतर्फ उडेको थियो । हवाई दुर्घटनाबारे ब्युरोले तत्काल अनुसन्धान शुरु गर्ने उनले बताए ।

प्रत्यक्षदर्शीका अनुसार विचक्राफ्ट मोडेल ३९० शाह आलमको उपनगर नजिकै एल्मिना इस्टेटको जमिनमा ठोक्किँदा आगो लागेको थियो । विस्फोटको ठूलो आवाज पनि सुनिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्