काठमाडौँ, २ पुस । मलेसियामा नेपाली साथीको हत्या गरेर भागेका एक युवक काठमाडौँमा पक्राउ परेका छन् ।
महोत्तरी गौशालाका अनिलकुमार साहलाई प्रहरीले विमानस्थलबाट पक्राउ गरेको हो ।
साहले गएको मंसिर २५ गते झापाका धनबहादुर प्रधानको हत्या गरेका र हत्यापछि भागेर नेपाल आउँदै गर्दा उनलाई विमानस्थलबाटै पक्राउ गरिएको काठमाडौँ प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार नेपाली दूतावास तथा इन्टरपोलसँगको सहकार्यमा उनलाई पक्राउ गरिएको हो । मुलुकी अपराध संहितामा रहेको बहुक्षेत्रीय अधिकारसम्बन्धी प्रावधानअनुसार उनीविरुद्ध नेपालमै कर्तव्य ज्यान मुद्दामा अनुसन्धान र अभियोजन हुने काठमाडौँ प्रहरीले जनाएको छ ।






