इलाम, २८ जेठ । पत्रकारहरुकाे क्षमता विकासका लागि इलामको रोङ गाउँपालिकामा भएको तीन दिने मल्टिमिडिया तालिम आइतबार सम्पन्न भएकाे छ ।
शुक्रबारदेखि सुरु भएको उक्त तालिममा कोशी प्रदेशका २० जना भन्दा बढी पत्रकारहरुको सहभागिता रहेको थियो ।
नेपाल पत्रकार महासंघ काेशी प्रदेशको आयाेजना तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको सहयोगमा भएको तालिमको सहजीकरण नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भिसन राईले गरेका थिए ।
राईले तालिममा मोबाइल टेक्स्ट, अडियो र भिडियोसहित मोबाइलबाटै छिटो समाचार कसरी सम्प्रेषण गर्ने लगायतका बारेमा बताएका थिए ।
नेपाल पत्रकार महासंघ काेशी प्रदेशका अध्यक्ष लिलाबल्भव घिमिरेको सभापतित्वमा भएको समापन समरोहमा तालिमका प्रशिक्षक राई, महासंघका काेशी प्रदेशका उपाध्यक्ष लभदेव ढुङ्गाना, महासचिव विवेक गौतम, कोषाध्यक्ष विमल लामिछाने लगायतले आ-आफ्ना धारणा राखेका थिए ।
उक्त तालिम समापन समारोहमा प्रशिक्षार्थीका तर्फबाट रोशन भट्टराई र जोस्ना श्रेष्ठले सिकाइ मन्तव्य राखेका थिए ।
पत्रकार महासंघ इलाम शाखाका अध्यक्ष विप्लव भट्टराईले मन्तव्यबाट स्वागत गरेको समापन समारोहको सञ्चालन पत्रकार महासंघ काेशी प्रदेशका सचिव तथा तालिम विभाग प्रमुख देवेन्द्र कार्कीले गरेका थिए ।







