कृष्णबहादुर महरालाई बलात्कारको आरोप लागेको घटना सार्वजनिकभएको २४ घण्टा नबित्दै उनी सभामुखपदत्याग गर्न बाध्य भए । नेपालमा यौन काण्डमा मुछिएका सबैभन्दा उच्च पदस्त व्यक्ति महरा नै हुन् । महराको बलात्कार काण्डको समाचार सार्वजनिक भएपछि सनसनी मच्चिएको थियो । यो स्क्यान्डलले नेपाली मिडियामा नयाँ बहसको थालनी गरेको छ । पत्रकारितामा अमेरिकाको वाटरगेट काण्ड अध्ययनगरिँदै आएकोमा अब महराको बलात्कार काण्ड पनि अध्ययनको विषय हुने भएको छ ।
के हो वाटरगेट काण्ड ?
सन् १९७२ मा अमेरिकामा भएको राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीबाट दोस्रो कार्यकालका लागि रिचर्ड निक्सन निर्वाचित भए । निक्सनले धाँधली गरेर निर्वाचन जितेको आरोप लाग्यो । निर्वाचनमा भएको धाँधलीको वासिङ्टन पोष्टले निरन्तर खोजमूलक समाचार प्रकाशन ग¥यो । वासिङ्टन पोष्टको निरन्तर खोजी कार्यले सन् १९७४ अगष्ट ८ तारिखमा निक्सन राष्ट्रपति पदबाट राजीनामा दिन बाध्य भए । यस घटनालाई वाटरगेट काण्ड भनेर चिनिन्छ । त्यसबेला यस समाचारले संसारभर चर्चा पायो ।
संसारका पत्रकारिता अध्यापन हुने विश्वविद्यालय, कलेज, विद्यालय, प्रशिक्षणमा वाटरगेट काण्डको अध्ययन÷अध्यापन हुने गर्दछ । मिडियाले निरन्तर खोजीगर्दा अमेरिका जस्तो महाशक्तिका शक्तिशाली राष्ट्रपति पनि राजीनामा दिन कसरी बाध्य भए भन्ने तथ्य प्रस्ट्याउन पत्रकारितामा वाटरगेट काण्डको उदाहरण दिइन्छ ।
सञ्चारमाध्यम र पत्रकारले निरन्तर तथ्यको खोजीगर्दा कसरी परिणाम ल्याउँछ भन्ने बुझाउन पत्रकारिताका शिक्षक, प्रशिक्षक, विद्यार्थी र अनुसन्धानकर्ताले वाटरगेटको उदाहरण दिने गरेका छन् । नेपालमा पनि पत्रकारिताको अध्ययन÷अध्यापनकार्यमा वाटरगेट काण्डको राम्रो चर्चा हुने गर्दछ ।
वाटरगेट काण्ड जस्तै एक दशकअघि भारतमा तहल्का डटकमको समाचारले तहल्का मच्चाएको थियो । भारतका तत्कालिन रक्षामन्त्री जर्ज फर्नाडिजको मिग २९ विमानको खरिद प्रकरणका सम्बन्धमा तहल्काले सनसनीपूर्ण समाचार प्रकाशन गरेको थियो । यो खोजमूलक समाचार सार्वजनिक भएपछि रक्षामन्त्री फर्नाडिजले राजीनामा दिनु परेको थियो ।
भारतमा छ महिनाअघि भएको लोकसभा निर्वाचनमा मूलधारका भारतीय मिडिया कसरी बिक्री भएका छन् भन्ने कोब्राखबर डटकमले खुलासा गरेको थियो । कोब्राको एउटा टिमले छद्म भेषमा भारतका ठूला मिडियालाई मोदीको विज्ञापनमा गेरुबस्त्र रङको प्रयोग गरे जतिपनि पैसा दिने डिल गर्दा सबैै मिडिया तयार भएको खुलासा गरेको थियो । भारतमा मिडिया कसरी बिकाउ छन् ? भन्ने यो समाचारले सनसनी मच्चाएको थियो । दुनियाँमा यस्ता धेरै घटना छन्, जसले ठूलठूला शक्तिशाली व्यक्तिलाई पदमुक्त पारेका छन् ।
वाटरगेटको नेपाली संस्करण
नेपालमा सञ्चारमाध्यम र पत्रकारले खोजमूलक समाचार प्रकाशनगर्दा तहल्का मच्चिएका सयौँ उदाहरण छन् । तर, राजनीतिक तहको यति उच्चपदमा आसिन संघीय संसदका सभामुख कृष्णबहादुर महराको राजीनामा पहिलो घटना हो ।
मर्यादाक्रममा महरा नेपालका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीपछि मर्यादाक्रम पछिका उच्च व्यक्ति हुन् । यति उच्चपदमा भएका व्यक्तिको चरित्रको विषयमा आएको समाचारका कारण राजीनामा दिनु परेको पहिलो घटना हो ।
महराले संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई असोज १४ गते उनकै डेरामा गएर बलात्कार गरेको घटना सञ्चारमाध्यममा आएपछि २४ घण्टा नबित्दै राजीनामा दिन उनी बाध्य भएका हुन् । नेपालको सन्दर्भमा बलात्कारको आरोपपछि महराले दिएको राजीनामा वाटरगेट काण्डको नेपाली संस्करण हो भन्दा फरक पर्दैन ।
वाटरगेट काण्ड वासिङ्टन पोष्टको दुई वर्ष भन्दा बढी समयसम्म निरन्तरको खोजी पत्रकारिताको परिणाम थियो । सूचना संकलनका लागि पत्रिकाले दुई जना रिपोर्टर खटाएको थियो । वाटरगेट काण्डको पर्दाफास गर्न अथक मेहनत गर्नु परेको थियो । तर, हाम्रोकुरा डटकमले सूचनाका लागि अथक परिश्रम गर्नु नपरेपनि परिणामका हिसाव नेपालको सन्दर्भमा वाटरगेट काण्डसँग तुलना गर्न सकिन्छ ।
नेपालको पत्रकारितामा अब महराको राजीनामा अध्ययन/अध्ययापनको विषय हुने भएको छ । पत्रकारिताको अध्ययन र प्रशिक्षणमा महराको राजीनामाले पर्याप्त ठाउँ र चर्चा पाउँछ । पत्रकारिताका क्याम्पस, विद्यालयवा प्रशिक्षण केन्द्रमा महराको बलात्कार काण्डले गज्जबको स्थान पाउनेछ ।
हाम्राकुरा डटकममा सम्पादक अजयबाबु शिवाकोटीले समाचार प्रकाशन प्रसारण गरेपछि सभामुख महराको बलात्कार काण्डको पर्दाफास भएको हो । समाचार आएपनि धेरैले यो होइन कि ! भनेर पत्याएनन् । तर, पीडित कर्मचारी रोशनीको भिडियोसहित सामग्री प्रसारण भएपछि सभामुख महराको बलात्कार काण्डले सनसनी मच्चिएको हो । सञ्चारमाध्यम र सामाजिक सञ्जालमा महराको बलात्कार काण्ड भाइरल भएपछि उनी पदत्याग गर्न बाध्य भएका हुन् ।
पत्रकारिताको दृष्टिकोणले महराको बलात्कार काण्डलाई वाटरगेट काण्डसँग मात्र तुलना गरेर पूरा हुँदैन । यो घटना पत्रकारिता र सञ्चारमाध्यमको परिवर्तित अवस्थाको बलियो प्रमाण हो । यो स्क्यान्डल पछि नेपाली मिडियामा नयाँ बहसको थालनी भएको छ । ठूला मिडियालाई साना मिडियाको चुनौती थपिएको छ । साना मिडिया समाचार सामग्री र प्रभावका सन्दर्भमा ठूला मिडियासँग प्रतिस्पर्धा गर्न सक्ने भएका हुन् ? नेपाली मिडियामा आएको बद्लावको पत्रकारिताको दृष्टिकोणबाट अध्ययन र विश्लेषण गर्नु सान्दर्भिक हुन्छ ।
मूलधारका मिडियालाई चुनौती
हाम्राकुरा डटकम करोडौँ लगानी भएको अनलाइन होइन । सामान्य लगानीको अनलाइन हो । यो कुनै बिग मिडिया हाउस पनि होइन । थोरै लगानी र जनशक्तिमा सञ्चालित अनलाइनको एउटै समाचारले कस्तो परिणाम ल्याउन सक्छ भन्ने महरा बलात्कार काण्ड बलियो प्रमाण हो । बिग हाउसले उठान गरेका समाचार मात्र राष्ट्रिय एजेण्डा बन्ने दिन सकिँदै गएको यसले संकेत गरेको छ । साना भनिएका डिजिटल पत्रिकाले पनि राष्ट्रिय एजेण्डा निर्माण गर्न सक्ने र पावरफूल हुन सक्छन् भन्ने महरा बलात्कार काण्डले स्थापित गरेको छ ।
करोडौँ लगानी भएका सञ्चारमाध्यम र साना भनिएका सञ्चारमाध्यमको सूचना बिक्री गर्ने बजार एउटै हो । सूचनामा पहुँच पु¥याउन सक्दा साना मिडिया हाउसले पनि करोडौँ लगानी भएका ठूला मिडिया हाउसलाई चुनौती दिन सक्ने अवस्था देखिएको छ । ठूलो लगानीका मिडिया हाउसकोे सूचनामा केही पहुँच बढी होला, अन्यथा सूचना बिक्री गर्ने माध्यम र बजार एउटै हो भन्ने तथ्यले देखाएको छ ।
महरा बलात्कार काण्डमा मूलधारका ठूला मिडिया हाउस र तिनका सम्पादक हाम्रोकुरा डटकममा प्रकाशन भएको समाचार सामग्री र भिडियोलाई आधार मानेर समाचार बनाउन बाध्य भए । उनीहरुसँग तथ्यकालागि तत्काल कुनै स्रोत थिएन । हाम्रोकुरा डटकमको समाचार र भिडियोमा भर पर्नुपर्ने बाध्यता आइलाग्यो । यस घटनाले मूलधार भनिएका ठूला लगानीका मिडिया र तीनका सम्पादकलाई बलियो चुनौती दिएको छ ।
एक महिना अघि शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका पत्रकार रवि लामिछानेको विषयमा पनि प्रारम्भमा मूलधारका मिडिया मौन जस्तै बने । तर, साना अनलाइन र सामाजिक सञ्जालमा निरन्तर समाचार आएपछि ठूला मिडियाले समाचार कबर गर्न बाध्य भएका थिए ।
पत्रपत्रिकाको तीन सय वर्षभन्दा लामो समयसम्मको प्रभाव, टेलिभिजनको ५० वर्ष र एफएम रेडियोको लगभग तीस वर्षदेखिको बर्चश्व र प्रभाव अनलाइन मिडिया र सामाजिक सञ्जालका कारण गुम्दै गएको छ । सूचना प्रविधिको विकासले मिडियामा ठूलो संक्रमण सिर्जना गरेको छ ।
प्रोपोगण्डामा मिडिया
महराले बलात्कारपछि आफूलाई कुटपिट गरेको स्वयम् रोशनी शाहीले भिडियो अन्तर्वार्ता दिइन् । रोशनीले बलात्कृत भएको भनी प्रहरीमा गरेको मौखिक उजुरी, छरपस्ट भएको सामान, महराको भाँचिएको चस्मा, पीडित घाइते भएको अवस्था, पत्रकारले भिडियो रेकर्ड गर्दागर्दै महराको फोन आएको तथ्यलाई अस्वीकार गर्ने प्रयास नभएको होइन ।
महराले केही मिडियामा आफू ती महिलाकोमा गएको स्वीकार गरे । तर, बलात्कारको घटनामा संलग्न नभएको प्रतिक्रिया दिए । उनका प्रेस सल्लाहकारले महरा ती महिलाकोमा नगएको, सबै आरोप निराधार भएको र राजनीतिक चरित्र हत्या गर्न उनलाई ‘कठपुतली’को रुपमा प्रयोग गरिएको सफेदझुट विज्ञप्ति जारी गरे ।
हो, महराको भनाइ र उनको विज्ञप्तिले मिडियामा ठाउँ पाउनु पर्छ । तर, बलात्कार प्रकरणमा महरा संलग्न छैनन्, यो हुनै सक्तैन, समाचारमा आएको झुठ्ठा हो, महराले भनेको ठिक हो भन्ने एङ्गलबाट समाचार प्रवाह हुन थाल्यो । विज्ञप्तिको व्यापक प्रचार भयो । पक्ष–विपक्ष दुवै कोणबाट विज्ञप्तिको प्रचार, विश्लेषण, टीका टिप्पणी भए । तर, विज्ञप्तिले जति छोप्न खोजे पनि छोपिएन । उज्यालो हुँदानहुँदै महरा राजीनामा दिने ठाउँमा पुगे ।
महराको राजीनामा आएको केही घण्टापछि पीडित भनिएकी रोशनी शाहीले नागरिक खबर डटकमलाई अन्तर्वाता दिइन् । त्यसमा उनले अघिल्लो दिन दिएको भन्दा ठिक विपरीत भनाइ राखिन् । उनले महराले आफूलाई बलात्कार नगरेको, आफ्नो बाबु समानको मानिस भएको प्रतिक्रिया दिइन् । यसको पनि व्यापक प्रचार भयो । एक खालका मिडिया, समूह र व्यक्तिले अघिल्लो दिनको भिडियो सबै झुट हो भन्ने तरिकाले प्रचार गरे । अघिल्लो र दोस्रो दिनको भिडियोको तुलनातक अध्ययन गर्ने प्रयास गरिएन ।
रोशनीको दोस्रो दिनको अन्तर्वार्ता प्रसारण गर्ने अनलाइनले नाम सार्वजनिक गर्नु पत्रकार आचारसंहिताको उल्लङ्घन हो । अघिल्लो दिन उनको परिचय लुकाइएको थियो । तर, दोस्रो दिन मिडियाबाट उनको परिचय खुल्ला राख्नु भनेको पीडितलाई थप पीडा दिनु होइन ? अघिल्लो दिनको भिडियो पूरै खारेज गर्ने प्रकृतिबाट आएको दोस्रो दिनको भिडियो प्रसारण गर्नु समाचारको मात्र उद्देश्य होइन । यो पत्रकारिताका नाममा गरिने प्रोपोगण्डा पनि हो ।
झुठ्ठा भिडियोको यति धेरै प्रचार गरियो कि अघिल्लो दिनको ती महिलाको भिडियो अन्तर्वार्ता अरु कसैले दिएको हो भन्ने तरिकाले भाइरल बनाइयो । दोस्रो दिनको भिडियो अन्तर्वार्ता सत्य हो भन्ने कोणबाट मिडिया र सामाजिक सञ्जालमा प्रोपोगण्डा मच्चाउने तरिकाबाट प्रचार गरियो । अहिले पीडित भनिएकी रोशनीले आफूलाई बलात्कार नभएको प्रहरीमा निवेदनसमेत दर्ज गरेकी छन् ।
महराको बलात्कार घटना सार्वजनिक भएपछि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अनेक प्रतिक्रिया आएका छन् । घटना पछि धेरैले पत्याउन नसकिने घटना, महरा जस्तो शालिन व्यक्तिबाट त्यस्तो काम हुनै सक्तैन, कसरी भयो ? यो षड्यन्त्र हुनुपर्छ, ती महिलाको महरासँग पहिला देखिनै सम्बन्ध हुनुपर्छ, कुरो मिलुन्जेल सबै ठिक, कुरा मिल्न छाडेपछि बेठिक भन्ने जस्ता महराका बचाउमा प्रशस्त प्रतिक्रिया आएका छन् । ती महिलालाई नै अपराधी दर्ज गर्ने, उनलाई नै दोषी देखाउने प्रयास गरिएको छ । यी सामग्रीले सामाजिक सञ्जालमा राम्रै स्थान पाएका छन् ।
पीडितले प्रहरीमा तत्काल मौखिक उजुरी गरेपछि उनको सुरक्षा गर्ने जिम्मेवारी राज्यको हो । तर, रोशनीको संरक्षण भएन । उनले महरा निकटका व्यक्तिको प्रभाव र दबाबमा आफ्नो बयान फेरेकी हुन् भन्ने बुझ्न गाह्रो छैन । राज्य, राजनीतिक शक्ति, अधिकारकर्मी, मिडियाको एउटा समूह कसरी शक्तिशाली व्यक्तिको पक्षमा लाग्छ भन्ने महराको बलात्कार काण्डले प्रस्ट पारेको छ । ती शक्तिहरुले समाजमा गलत प्रोपोगण्डा चलाएर महरा विचरा र रोशनी शाहीलाई अपराधी करार गरे भनेपनि आश्चर्य नहुन सक्छ । कानुनी रुपले नसकेपनि सामाजिक र नैतिक रुपमा महराभन्दा रोशनी अनैतिक, तुच्छ, व्यभिचारी, अपराधी हुन् भन्ने प्रचार र प्रोपोगण्डाको खेती राम्रैसँग भएको छ ।