झापा, १२ वैशाख । कनकाई नगरपालिकाको मेयरको उम्मेदवार छनोटमा घात गरेको भन्दै नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि शेरबहादुर थापाले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् ।
कनकाई नगरपालिकाको मेयरका आकांक्षी थापाले अन्तिम अवस्थामा आएर जिल्ला र प्रदेश नेतृत्वले टिकट नदिएपछि राजीनामा दिएका हुन् ।
उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै साधारण सदस्यसमेत नरहने गरी नेपाली काँग्रेस परित्याग गरेको घोषणा गरेका हुन् । लामो समयदेखि राजनीतिसँगै सामाजिक क्षेत्रमा काम गर्दै आएका थापाले टिकट नपाउँदा उनका समर्थक तथा शुभचिन्तकहरु समेत दु:खी भएका छन् ।
थापाले सामाजिक सञ्जालमा लेखेका छन्:
‘झापा क्षेत्र नं २ को महाधिवेशन प्रतिनिधि म शेरबहादुर थापा नेपाली कांग्रेस नेविसंघमा २०३७ सालबाट प्रवेश गरी २०५३-१०-१५ गते सक्रिय सदस्य प्राप्त गरी हालसम्म निरन्तर पार्टीमा सक्रिय रहिराखेको र पार्टीको काममा निरन्तर सेवा गरेर बफादार रही पार्टीको जिम्मेवारी पूरा गरी सामाजिक काममा समेत अग्रसर भएको अवस्थामा पार्टीको सम्पूर्ण सक्रिय सदस्यहरुको भावनालाई कदर गर्ने गरेको छु । उहाँहरुको भावनाअनुरुप पार्टीले काम गर्न नसकेको र विधि विधान भन्दा लोभीपापीहरूको संगठनमा हावी भएकाले पार्टीलाई उच्च सम्मान गर्दै साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको छु । नोटः पार्टी गलत नभएको र पार्टीलाई सधैं म सम्मान नै गर्नेछु । जय नेपाल !’