काठमाडौँ, ३० चैत । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सिंहदरबार वा राजधानी नै अर्कै पालिकामा सारेर लैजान चुनौती दिएका छन् ।
बिहीबार फेसबुकमा एक स्टाटस लेख्दै उनले कि काठमाडौँ को हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरू पालिकामा सार्नुस् भन्दै संघीय सरकारलाई चुनौती दिएका हुन् ।
उनले संघीय सरकारलाई चुनौतीसहित भनेका छन्, ‘हामी काठमाडौँ बासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् ।’
उनले हामीलाई हाम्रो सम्पदा, संस्कृति , कला, सभ्यता चाहिएको हो भन्दै राजनीति चाहिएको होइन भनेका छन् ।
यसअघि प्रमुख साहले १४ वटा कारण देखाउँदै संघीय सरकार अन्तर्गतका सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहोर नउठाउने बताएका थिए । एक सातादेखि यी स्थानका फोहोर उठेका छैन । गत बुधबार उनले आफ्ना १४ वटा माग पूरा नगरेसम्म यी तीनै ठाउँको फोहोर नउठाउने घोषणा गरेका थिए ।
मन्त्रिपरिषद् बैठकले महानगरसँग समन्वय गर्ने र समस्या समाधान गर्ने निर्णयसमेत गरिसकेको छ। यद्यपि, केन्द्र सरकार र महानगरबीच सम्बन्ध सुधार भएको देखिँदैन ।







