तारामणि सापकोटा
सन् १९१७ मा भि. आई. लेनिनको नेतृत्वमा रुसमा सम्पन्न समाजवादी क्रान्तिले आज सय बर्ष पुरा गरेको छ । माक्र्सवादको पहिलो प्रयोग रुपमा रुसी समाजवादी क्रान्तिले संसार हल्लाएको थियो । सोभियत संघ बिघटन भएको २८ बर्ष भइसकेको छ । हिजोको सोभियत समाजवादी व्यवस्था आज इतिहास बनिसकेको छ । यद्धपी रुसी क्रान्ति र सोभियत समाजवादी व्यवस्थाको महत्व र उपदायता आजपनि त्यत्तिकै सान्दर्भिक र औचित्यपूर्ण छ । कार्ल माक्र्सको सर्वहारा श्रमजिवी वर्गको अधिनायकत्वसहितको राज्य स्थापना गर्न सकिने विचारको व्यवहारिक प्रयोग थियो रुसी क्रान्ति ।
सन् १८७१ मा भएको पेरिस कम्युनको असफलता नै रुसी क्रान्तिको मुख्य आधार थियो । कार्ल माक्र्सको जीवनकालमा श्रमजिवी सर्वहारा वर्गले स्थापना गरेको पेरिस कम्युन प्रतिकृयावादी सड्यन्त्रबाट ७२ दिनमै असफल भयो । पेरिस कम्युन भिन्न सशक्त र सेना सहितको रुसी बोल्सेभिकहरुको नेतृत्वमा क्रान्ति सम्पन्न भएको हो ।
श्रमजिवी वर्ग निर्णायक शक्ति रहेको रुसी क्रान्तिमा किसान वर्ग क्रान्तिको शक्तिशाली सहयोगि बने । सन् १९०५ मा भएको बिद्रोह असफल भएपनि सन् १९१४ बाट सुरु भएको पहिलो विश्व युद्ध सँगै क्रान्तिका आधार खडा भएको थियो । लेनिनले विश्व युद्ध साम्राज्यवादीहरुका बिचको लडाई भएकाले त्यसमा संलग्न नहुन आह्वान गरेका थिए । रुसमा सन् १०१७ फेब्रेवरीमा पुँजिवादी प्रजातान्त्रिक क्रान्ति सम्पन्न भयो । यस क्रान्तिले जार शाहीको अन्त्य गरेको थियो । तर, त्यस क्रान्तिले पुँजिवादी तथा साम्राज्यवादीका जरा नउखेलिने भन्दै क्रान्तिकारीहरुले त्यसको बिरोध गरे । फलस्वरुप सन् १९१७ अक्टोबर २५ तारिखमा लेनिनको नेतृत्वमा रुसी क्रान्ति सम्पन्न भएको हो ।
रुसी क्रान्तिले क्रान्तिको नयाँ स्वरुप निर्माण गरेको थियो । क्रान्तिका लागि नयाँ चेतनाको सञ्चार गरेको थियो । उत्पादनका साधान पहिलो पटक श्रमजिवी सर्वहारा वर्गको हातमा राखिदियो ।
साम्राज्यवाद बिरोधी क्रान्तिः
अक्टोबर क्रान्ति मानव जातिको इतिहासमा नयाँ युगको सुरुवात थियो । यसले सर्वहारा क्रान्तिको मार्ग खोलिदियो । रुसी क्रान्तिको सफलताबाट अन्य कयौ देशमा क्रान्ति सम्पन्न भए । यो समाजवाद स्थापना गर्ने क्रान्ति मात्र थिएन यो साम्राज्यवाद बिरोधी क्रान्ति पनि थियो । रुसी क्रान्ति पछि संसार भरका न्यायप्रेमी तथा मुक्तिगामी समुदायले उपनिवेश र साम्राज्यवादको बिरोध गरे । ति उपनिवेश र साम्राज्यवादको जाँतोमा पिल्सिएका देशले स्वतन्त्रता प्राप्त गरे । रुसी क्रान्तिले समाजवादी क्रान्ति मात्र होइन पुँजिवादी जनवादी क्रान्तिको बिगुल पुक्यो । पुँजिवादी मौलिक तथा प्रजातान्त्रिक अधिकारका क्रान्तिहरु भए ।
रुसी क्रान्ति पछि स्थापित सोभियत संघले विश्व साम्राज्यवादले टक्कर दियो । साम्राज्यवाद र उपनिवेशवाद चलाईरहेका पुँजिवादी देशका लागि रुसी क्रान्ति र त्यसले दिएको सन्देश चनौती बन्यो । रुसी मोडलको आर्थिक, सामाजिक तथा राजनीतिक मोडल संसारका लागि अनुकरणीय बन्यो । शोषणरहित समाज निर्माणको आधार रुसी क्रान्तिले खडा गरेको थियो ।
लेनिनवादको बिकासः
रुसी क्रान्ति वा अक्टोवर क्रान्ति माक्र्सवादको पहिलो प्रयोग थियो भने लेनिनवादको प्रारम्भ थियो । लनिनको साम्राज्यवाद सम्बन्धि विचार आजपनि त्यतिकै औचित्यपूर्ण छ । साम्राज्जवाद पुँजिवादको उच्चतम रुप हो भन्ने भनाई आजपनि सान्दर्भिक छ ।
लेनिनले प्रतिपादन गरेका संगठानात्कम सिद्धान्तलाई लेनिनवादी संगठानात्मक सिद्धान्त भनिन्छ । यो सिद्धान्त संसारका कम्युनिष्ट पार्टीले मात्र होइन बुर्जुवा र पुँजिवादी पार्टीले पनि स्वीकारेका छन् ।
अल्पमत बहुमतको अधिनस्त, पार्टी सदस्य कमिटीको अधिनस्त, तल्लो कमिटी माथिल्लो कमिटीको अधिनस्त, केन्द्रीय कमिटी महाधिवेशनको र महाधिवेशन पार्टी सदस्यको अधिनस्त हुने भन्ने लेनिनको विचार आज संसार भर प्रयोगमा छ ।
विचार र सिद्धान्त विहिन पार्टीले क्रान्ति गर्न सक्तैन । कम्युनिष्ट पार्टी विचारले लैस हुनु पर्छ । कम्युनिष्ट पार्टीका सदस्य सर्वहारा क्रान्तिमा सर्मपित हुँदा मात्र क्रान्ति सम्पन्न हुन्छ भन्ने विचार आज पनि त्यति कै सान्दर्भिक छ । कम्युनिष्ट पार्टीको सेना निर्माणको सवाल होस वा पार्टी नेता र कार्यकर्ता भूमिगत भएर क्रान्तिमा खेल्ने भूमिकाको अभ्यास लेनिनले पहिलो पटक गरे । जुन आज पनि निरंकुशता विरुद्ध, क्रान्तिका लागि प्रयोगमा आउने गरेको छ ।
सोभियत समाजवादको बिघटनः
माक्र्सले वर्ग रहेसम्म वर्गको अस्तित्व सहन्छ भनेका थिए । माक्र्सले साम्यवादी समाज मात्र वर्गबिहिन हुने बताएका थिए । लेनिनले यसमा सचेत थिए । तर, साम्राज्यवादसँगको लडाई बिजय प्राप्तसँग स्टालिनले सोभियत समाजवादमा वर्ग समाप्त भएको घोषणा गरे । यो नै सोभियत सत्तामा पुँजिवाद विचारको प्रवेश थियो ।
दोस्रो विश्व युद्धमा जर्मन पासिस्टलाई लखेटने क्रममा पूर्वी युरोपमा सर्वहारासत्ता कायम भएका थिए । र उनीहरु राजनीतिक रुपमा सोभियत सत्तासँग भर पर्न थाले र सोभियत समाजवादको बिघटनसँग पूर्वी युरोपको सर्वहारा सत्ता बिघटन भएको हो ।
‘वार्सा सैनिक संगठन र पारस्परिक आर्थिक सहायता परिषद’ गठनले रुसी निर्भरता झन बढ्यो । मिखाईल गोर्भाचोभको कार्यकालमा सोभियत संघ आर्थिक संकटमा पर्यो र गोर्भाचोभले ‘वार्सा सैनिक संगठन र पारस्परिक आर्थिक सहायता परिषद’ बिघटन गरिदिए । जसले पूर्वी युरोपका साशकलाई गम्भिर धक्का दियो ।
सोभियत संघको छातामुनी रहेका पूर्वी युरोपका साशक पार्टीहरु खुस्चेभको संशोधनवादी लाइनको पछि लागे र अन्त्यमा गोर्भाचोभको कथित सुधारवादी कार्यक्रमसँगै बगे ।
सोभियत सत्ताले समाजको आवश्यक्त महसुस गरेपनि व्यक्तिका आवश्यक्ता, उसका इच्छा र मनोविज्ञान बुझने प्रयास गरेन, जुन सोभियत संघ बिघटनको एक कारण बन्यो ।
नेपालमा अक्टोवर क्रान्तिको प्रभावः
रुसमा सम्पन्न अक्टोवर क्रान्तिको प्रभाव संसारभर गहिरो प्रभाव परेको थियो । रुसी समाजवादी व्यवस्थाको स्थापनासँगै संसारभर कम्युनिष्ट पार्टी स्थापना गर्ने क्रम बढ्यो । चिन, भारत, फिलिपिन्स, पेरु, भियतनाम लगायतका देशमा कम्युनिष्ट पार्टी स्थापना भए । दोस्रो विश्व युद्धसँगै चिनमा चिनीया जनवादी क्रान्ति सम्पन्न भयो । नेपालमा पनि रुसी क्रान्ति र चिनियाँ क्रन्तिको प्रभाव परेको थियो । कम्युनिष्ट पाठ्य सामग्री नेपालीमा प्रकाशन गर्ने सोभियत संघले गरेको सहयोगले नेपालमा कम्युनिष्ट कार्यकर्ता उत्पादनमा ठूलो सहयोग गरेको थियो ।
रुसी क्रान्तिमा मजदुर निर्णायक शक्ति र कृषक सहयोगि शक्ति बने भने चिनमा कृषक निर्णायक शक्ति र मजदुर सहयोगि शक्ति बने । रुसी क्रान्ति शहरमा सम्पन्न भएको थियो भने चिनियाँ क्रान्ति ग्रामिण इलाका हुँदै शहर घेर्ने योजनाबाट सम्पन्न भएको थियो ।
नेपालमा २००७ सालमा भएको जनक्रान्ति राजनीतिक अधिकार प्राप्तिका लागि पुँजिवादी प्रजातान्त्रिक क्रान्ति थियो । २०४६ सालमा कम्युनिष्टहरुको संलग्नतामा सम्पन्न आन्दोलनले पनि २००७ सालकै राजनीतिक चरित्र बोकेको थियो । यसमा मध्यम वर्ग, शहरीया वुद्धिजिवीको बाहुल्यता थियो । यो मूलतः शहर केन्द्रीत आन्दोलन थियो ।
नेकपा माओवादीको नेतृत्वमा संचालित जनयुद्ध गा्रमिण इलाकाबाट सुरु भएको थियो । ७ साल र ४६ सालमा भएको भन्दा भिन्न चरित्र जनयुद्धले बोकेको थियो । गाउँका गरिव, किसान, श्रमिक, आदिवासी, जनजाति, उत्पीडन र सोशणमा परेका जाति र समुदायको जनयुद्धमा मुख्य संलग्नता थियो ।
पंचायत कालमा बिकास भएको ततकालिन नेकपा मालेले गाउँमा संगठन निर्माण गर्ने र शहरमा आन्दोलन गर्ने नीति बनायो भने माओवादीले संगठन गाउँमै संगठन र गाउँमै क्रान्तिको नीति लियो ।
नेपालमा २००७ साल, २०४६ साल, जनयुद्ध या दोस्रो जनआन्दोलन सबैमा रुसी क्रान्ति, चिनियाँ क्रान्तिको प्रभाव देखिन्छ ।