धनुषा, २३ फागुन । होली पर्वको अवसरमा मिथिला नाट्यकला परिषद् (मिनाप)ले प्रत्येक वर्ष धुमधामसँग मनाउँदै आएको दुई दिवसीय होरी (होली) महोत्सवअन्तर्गत आज महामूर्ख सम्मेलनको आयोजना हुँदैछ ।
जनकपुरधामको जानकी मन्दिरको प्राङ्गणमा मिनापले फागुन २२ र २३ गते होली महोत्सवको आयोजना गरेको हो । महोत्सवअन्तर्गत होलीको जोगिरा प्रतियोगिता सम्पन्न भइसकेको छ भने आज महामूर्ख सम्मेलन हुँदैछ ।
महामूर्ख सम्मेलनमा समाजका अगुवा व्यक्तित्वलाई विशेष मानपदवी प्रदान गर्ने चलन छ । यसअन्तर्गत महत्वपूर्ण व्यक्तिलाई महामूर्खको उपाधि प्रदान गरिन्छ । मिनापले मिथिला क्षेत्रबाट उच्च तहको बौद्धिक काम गर्ने एक जनालाई हरेक वर्ष छनोट गरेर महामूर्खसहित विभिन्न व्यङ्गात्मक पदवीबाट सम्मान गर्ने चलन छ । महामूर्ख तथा अन्य उपाधिकर्तालाई मिथिलामा उत्पादन गरिएका तरकारीहरूको माला बनाएर लगाउने प्रचलन रहेको छ ।
यो सम्मेलनको परिकल्पनाकारमध्ये एक रहेका मैथिली साहित्य परिषद्का पूर्वमहासचिव एवं चर्चित पत्रकार चन्द्रकिशोर झा भन्छन्, “नेपालमा २०४६ सालमा बहुदल आएको थियो । राजनीतिकरूपमा परिवर्तनको समय थियो । यो परिवर्तनमा समाजिक तथा साहित्यिक क्षेत्रका व्यक्तिहरूको योगदानको आवश्यकता थियो, यस्तो अवस्थामा यो अवधारणा आएको थियो ।”
“समाजमा रहेको विकृति विसङ्गतिलाई समाप्त गर्न व्यङ्ग्यले निकै ठूलो भूमिका खेल्ने गर्छ”, उनले थपे । वीरगञ्जमा अब होरी मिलन समारोह महामूर्ख सम्मेलनको आयोजना गर्दै आएको छ । महामूर्ख सम्मेलनजस्तै कार्यक्रम भारतमा पनि पहिलेदेखि नै हुँदै आएको छ ।
महामूर्ख सम्मेलन नेपालको विभिन्न स्थानमा हुँदै आए पनि जनकपुरमा यो निकै चर्चित मानिन्छ । यस सम्मेलनको प्रारम्भ वीरगञ्जबाट भएको हो । मैथिली साहित्य परिषद् वीरगञ्ज २०५० सालमा पहिलोपटक यो सम्मेलनको आयोजना गरेको थियो । पहिलोपटकको महामूर्ख लाला माधवेन्द्रजी भएका थिए ।
यसरी छनोट गरिन्छ महामूर्ख?
महामूर्खको छनोट कसरी हुन्छ धेरैको उत्सुकताको विषय हुनसक्छ । महामूर्ख बन्न धेरै दिमाग खियाउनुपर्ने परिषद्का पूर्वअध्यक्ष मदन ठाकुर बताउछन् । महामूर्खको छनोटका लागि तयारी आयोजनासँग खोजी सुरु भइहाल्छ । यसका लागि एक समिति गठन गरिन्छ । त्यसैले निर्णय गर्दै आएको छ । महामूर्ख बन्नका लागि धेरैको चाहना रहन्छ ।
जनकपुरधामको स्थानीय पत्रिकाहरूमा एक हप्ता पहिलादेखि नै को महामूर्ख बन्ने त्यसको नाममा चर्चा चलाइएको हुन्छ । नेपाल पत्रकार महासङ्घ पूर्व केन्द्रीय सदस्य शैलेन्द्र झा भन्छन्, “महामूर्ख जनकपुरधामको एउटा लोकप्रिय कार्यक्रम हो । यसलाई मिडियाले महत्व नदिने कुरै आउँदैन । मिडियामा चर्चा भएपछि कार्यक्रमको आकर्षण अझ बढने गर्छ ।” समान्यतया धेरैलाई लाग्न सक्छ महामूर्ख को बन्छ रु तर आश्चर्यको कुरो यो रहेको छ धेरैको इच्छा रहन्छ यसपालि म महामूर्ख बन्न सकूँ ।
विसं २०६५ का महामूर्ख उपाधि प्राप्तकर्ता एवं मैथिलीका वरिष्ठ साहित्यकार डा राजेन्द्रप्रसाद विमल भन्छन्, “उपाधि प्राप्त गर्नु आफैँमा ठूलो उपलब्धि रहेको छ, यस्तोमा महामूर्ख पाउनु ठूलो कुरो हो ।” फागुपूर्णिमाको पूर्वसन्ध्यामा आयोजना हुने दुई दिने होली महोत्सवको पहिलो दिन फागु गीत प्रतियोगिता तथा दोस्रो दिन महामूर्ख सम्मेलनको आयोजन गरिन्छ । मिनापका महासचिव शैलेन्द्र मल्लिकले मैथिली भाषा, साहित्य, कला, संस्कृति तथा लोकगीतको संरक्षण गर्न होली महोत्सव आयोजना गरिएको बताए ।