काठमाडौँ, ३ कात्तिक । कान्तिपुर मिडिया ग्रुपले ८२ जना श्रमजीवी पत्रकारलाई जर्वजस्ती नियम विपरीत हटाएपछि नेपाल पत्रकार महासंघ ग्रुपका कार्यविरुद्ध आन्दोलन सुरु गरेको छ ।
महासंघले आजदेखि आन्दोलनको स्वरुप परिवर्तन गर्ने भएको छ । ‘डिजिटल प्लेटफर्म’ मार्फत थप आन्दोलन जारी राख्ने महासङ्घले निर्णय गरेको महासचिव रोशन पुरीले जानकारी दिए । दसैँ बिदा पश्चात् आन्दोलनलाई अन्तर्राष्ट्रिय समुदाय, नागरिक समाज र नागरिक तहलाई जोड्दै थप सशक्त र परिणाममुखी बनाइने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कान्तिपुरले बलपूर्वक निष्कासन तथा गैर कानुनी सरुवा गरिएका पत्रकारको अधिकार प्राप्तिका लागि नेपाल पत्रकार महासङ्घले यस अघि देखिनै भद्र आन्दोलन गरेको भए पनि नेपाल मिडिया सोसाइटीको नाममा आएका आक्षेप र टिप्पणीप्रति नेपाल पत्रकार महासङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
श्रमजीवी पत्रकार ऐन आफ्नो संस्थामा तत्काल कार्यान्वयन गर्न महासङ्घले सोसाइटीको ध्यानाकर्षण गराएको छ ।






