Logo

महासचिव गुटेरेस कात्तिक १२ गते नेपाल आउने



काठमाडौँ, १० कार्तिक । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यही कात्तिक १२ देखि १५ गते (अक्टोबर २९ देखि १ नोभेम्बर) सम्म नेपालको औपचारिक भ्रमण गर्दैछन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणामा उनी आउन लागेका हुन् ।

जनवरी २०१७ मा उनले पदभार ग्रहण गरेपछि महासचिव गुटेरेसको यो पहिलो नेपाल भ्रमण हो । भ्रमणका क्रममा महासचिव गुटेरेसले ३ अक्टोबर २०२३ मा सङ्घीय संसद्को संयुक्त अधिवेशनलाई सम्बोधन गर्नेछन् ।

उनले हिमालयमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्नुका साथै प्रभावित समुदायसँग सङ्क्षिप्त कुराकानी गर्ने कार्यक्रम पनि रहेको छ । उनले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी र पोखराको भ्रमण गर्नेछन् ।

महासचिवका साथमा संयुक्त राष्ट्रसङ्घका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिंगर-हाम्दी र न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयका अन्य अधिकारीहरू र नेपालस्थित राष्ट्रसङ्घको टोली पनि सहभागी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्