काठमाडौँ, ४ साउन । एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ । नेपाल यूएईबीचको खेल दिउँसो सवा २ बजे शुरु हुनेछ । यो खेलपछि भारत र पाकिस्तान खेल्दैछन् ।
साउन १३ गतेसम्म हुने प्रतियोगितामा नेपाल गत फेब्रुअरीमा मलेसियामा सम्पन्न एसीसी महिला प्रिमियर कपबाट छनोट भएको हो । प्रतियोगितामा आठ टोली सहभागी छन् । दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा भारत र पाकिस्तान जस्ता टेस्ट राष्ट्रसँगै यूएई छ ।
समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन् । समूह चरणमा हुने १२ खेलबाट उत्कृष्ट दुई दुई देश सेमिफाइनल पुग्नेछन् । सेमिफाइनलमा विजयी दुई टोलीबीच फाइनल भिडन्त साउन १३ गते आइतबार हुनेछ ।
तीन साता अगाडि एसिया कपको तयारीका लागि श्रीलंका पुगेको नेपाली टिमले तीन वटा अभ्यास खेल खेलेको छ । तीनमा दुई हार र एक जित निकालेको नेपाली टिमले राम्रो तयारी गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
एसिया कपमा नेपालको यो तेस्रो सहभागिता हो । यसअघिका दुई संस्करण खेलिसकेको नेपाल अहिलेसम्म जीतविहीन छ । सन् २०१२ र २०१६ मा भएको एसिया कपमा नेपालले सहभागिता जनाएको थियो ।
सन् २०१२ मा चीनमा भएको एसिया कपमा नेपाल श्रीलङ्का, बङ्गलादेश र आयोजक चीनसँग पराजित भएको थियो । सन् २०१६ मा पनि नेपालले जीत निकाल्न सकेन । थाइल्याण्डमा भएको प्रतियोगितामा नेपाल ५ वटै खेलमा पराजित हुँदै घर फर्किनुपर्यो । दुवै सहभागितामा नेपालको प्रदर्शन सम्झन लायक हुन सकेको थिएन ।
सन् २०१६ मा नेपाल पाकिस्तानसँग ४७ र भारतसँग २१ रनमा अलआउट भएको थियो । तेस्रो पटक सहभागी हुन लागेको नेपालका ३ खेलाडीसँग एसिया कप खेलेको अनुभव छ । कप्तान इन्दु वर्मा, पूर्वकप्तान रुविना क्षेत्री र सीता रानामगरले यसअघिका दुई संस्करणको एसिया कप खेलेका छन् ।
क्यानले नेपाली महिला एसिया कप टोलीको नेतृत्व इन्दु बर्मालाई दिएको छ । बर्मा कप्तान रहेको टोलीमा पूर्व कप्तान रुविना क्षेत्रीसँगै सीता रानामगर, बिन्दू रावल, कविता कुँवर, पूजा महतो, कविता जोशी, सम्झना खड्का, काजोल श्रेष्ठ, सबनम राई, राजमती ऐरी, ममता चौधरी, कृतिका मरासिनी, रोमा थापा र डली भट्ट छन् ।