काठमाडौं, १२ माघ । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले आज आफ्नो अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डसँग खेल्दैछ । कीर्तिपुरको त्रिवि मैदानमा बिहान ९ बजे खेल शुरु हुनेछ ।
अघिल्लो चरणमा पुग्ने सम्भावना कायमै राख्न यो खेल नेपाललाई जित्नैपर्ने दबाब छ । तर जीतले मात्र पनि पर्याप्त हुँदैन । नेपालले स्कटल्यान्डलाई कुन अन्तरले पराजित गर्छ त्यसमा पनि भर पर्नुपर्ने अवस्था छ भने त्यति मात्र नभएर त्यसपछि हुने थाइल्यान्ड र नेदरल्यान्ड्सबीचको खेलको नतिजा पनि कुर्नुपर्ने अवस्था बनेको छ । यो अवस्थामा नेपालले स्कटल्यान्डलाई हराएर नेदरल्यान्ड्सले थाइल्यान्डलाई हराएमा नेपाल अघि बढ्ने सम्भावना सबैभन्दा बलियो देखिन्छ ।
नेपालले स्कटल्यान्डलाई जितेर थाइल्यान्डले नेदरल्यान्ड्सलाई हराएको अवस्थामा नेपाल र स्कटल्यान्डको समान २ जित अनि ४ अङ्क हुन्छ । यस्तोमा स्कटल्यान्डको बलियो नेटरनरेटमा भएकाले नेपालले ठूलो जीत निकाल्नुपर्ने छ । यदि नेपाल स्कटल्यान्डसँग पराजित भएम स्वतः बाहिरिनेछ भने थाइल्यान्ड र स्कटल्यान्ड दुवै छनोट हुनेछन् । नेदरल्यान्ड्स यसअघि नै छनोट भइसकेको छ ।
नेपाल पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेट र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । यस्तै तेश्रो खेलमा भने नेपालले टेस्ट राष्ट्र जिम्बावेलाई हरायो । १० वटा टोली सहभागी प्रतियोगिता माघ १८ गतेसम्म चल्नेछ ।
प्रतियोगितामा दुवै समूहबाट शीर्ष तीनमा पर्ने टोलीहरू ‘सुपर–सिक्स’ मा पुग्नेछन् । ‘सुपर–सिक्स’ बाट शीर्ष चार वटा टोली आउँदो वर्ष इङ्ग्ल्यान्ड र वेल्समा हुने महिला टी–२० विश्वकपमा छनोट हुनेछन् ।







