Logo

महिला टी-२० विश्व कप एसिया क्षेत्र छनोटको उपाधि यूएईलाई



मलेसिया, २३ भदौ । आईसीसी महिला टी-२० विश्व कप एसिया क्षेत्र छनोटको उपाधि यूएईले जितेको छ ।

आज भएको फाइनलमा थाइल्यान्ड ६ रनले पराजित भयो । उपाधि विजेता यूएई र उपविजेता थाइल्यान्डले आउँदो वर्ष हुने ग्लोबल टी-२० विश्व कप छनोट खेल्न पाउनेछन् ।

मलेसियाको बायोमासमा जितका लागि ७१ रनको सामान्य लक्ष्य पछ्याएको थाइल्यान्ड १७ ओभर ५ बलमा ६४ रनमा अलआउट भयो । थाइल्यान्डका नट्थाकन चान्थमले सर्वाधिक २२ रन बनाइन् । तर जितका लागि पर्याप्त भएन । नान्नापाट खोंचारोएनकाइ १२ रनमा आउट भइन् ।

सन् २०२० मा विश्व कप खेलिसकेका थाइल्यान्डका ९ खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । यूएईकी काविषा कुमारी एगोडागे र वैष्णव महेशले समान ३ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७० रन बनाएको थियो । यूएईकी थीर्थ सतिशले सर्वाधिक २३ रन जोडिन् ।

थाइल्यान्डकी ओनिचा खम्चोम्पुले ३ र नट्य बुचथमले २ विकेट लिइन् । हिजो भएको सेमिफाइनलमा नेपाल थाइल्यान्डसँग ४६ रनले पराजित हुँदै बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्