काठमाडौं, २४ कात्तिक । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले भारत भ्रमण गर्ने भएको छ ।
भ्रमणका क्रममा नेपाली टोलीले नोभेम्बर १३ देखि १९ सम्म ६ वटा अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दियो । नेपालले नोभेम्बर १३ र १७ मा राजस्थान, १४ र १८ मा उत्तराखण्ड क्रिकेट संघ तथा १५ र १९ मा बंगालको सामना गर्नेछ ।
शृङ्खला खेल उत्तराखण्डको चिदरवालास्थित आयुश क्रिकेट एकेडेमीमा हुनेछ । क्यानले भ्रमणका लागि इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषण गरेको छ । टोलीमा १० परिवर्तन भएको छ ।
मलेसियासँग ट्वान्टी २० शृङ्खला खेलेको टोलीबाट सीता रानमगर, राजमति ऐरी, कविता जोशी, रुवी पोदार, रचना चौधरी, यशोदा विष्ट, रिया शर्मा, सम्झना खड्का, सावित्री धामी र सोमु विष्ट बाहिरिएका छन् ।
यसैगरी अस्मिना कर्माचार्य, ईश्वरी विष्ट, साना प्रविन, रोमा थापा, मनिषा उपाध्याय, सीमाना केसी, ममता चौधरी, विन्दु रावल र लक्ष्मी साउद टोलीमा अटाएका छन् ।






