Logo

महोत्तरीमा स्यालले टोक्दा छ जना घाइते



महोत्तरी, ६ पुस । महोत्तरीमा मङ्गलबार स्यालले टोकेर एकै गाउँका छ जना घाइते भएका छन् ।

स्यालले टोकेर पिपरा गाउँपालिका-७ वनौली गाउँका दुई महिला र चार पुरुष घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीका अनुसार घाइते हुनेमा स्थानीय ५० वर्षीय दिनेश ठाकुर, ६२ वर्षीय शिवशङ्कर साह, ५५ वर्षीय बिल्टु मण्डल, ५५ वर्षीय लुटन साह, ६५ वर्षीया सिनेहा देवी र ५५ वर्षीया रामतोला देवी छन् ।

गाउँको पश्चिमपट्टि रहेको विद्यापति डिह नजिकैको वनमा घाँस दाउराका लागि गएका उनीहरूलाई घर फर्किने बेलामा झुण्डमा आएका स्यालले आक्रमण गरेका थिए ।

घाइते शिवशङ्कर, सिनेहा र रामतोलालाई गएराति नै उपचारका लागि जनकपुरस्थित जानकी अस्पताल लगिएको छ । अन्य चार जनाको गए राति गाउँकै क्लिनिकमा प्राथमिक उपचार गरिए पनि आज बिहान थप उपचारका लागि जनकपुर लगिएको स्थानीय बैद्यनाथ चौधरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्