
काठमाडौँ, १५ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीका सबै धारा एकीकृत हुन आवश्यक रहेको बताएका छन् ।
बुधबार पेरिस डाँडास्थित पार्टी मुख्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशको राष्ट्रिय स्वाधिनताका लागि, जनयुद्ध र जनआन्दोलनको बलमा हासिल उपलब्धिको रक्षा गर्न र वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डोर्याउन माओवादी धाराहरु सबै एकीकृत र केन्द्रीकृत हुन जरुरी रहेको प्रष्ट पारेका हुन् ।
‘क्रान्तिको खोजीमा, परिवर्तन र रुपान्तरणका निम्ति भन्दै उहाँहरु मुल नेतृत्वबाट अलग्गिनुभएको थियो । तीतामीठा अनुभवसहित फेरि एउटा नयाँ निष्कर्षसहित फर्किनुभयो ।’ उनले भने ।
साथै पूर्वमाओवादी घटकका सबै दल मिल्दा अहिले पनि देशको ठूलो शक्ति बन्न सकिने भन्दै उनले मोहन वैद्य र नेत्रविक्रम चन्द विप्लवलाई ठण्डा दिमागले सोच्न आग्रह गरे । ‘माओवादीहरू मिल्नु त छँदैछ, केही दिनमा संस्थागत एकता हुन्छ । तर पूर्व माओवादीहरू मिलेर मात्र पुग्दैन कम्युनिस्ट एकता गर्नुपर्छ,’ उनले भने ।
अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनलाई एकीकृत गर्ने काम आफ्नो नेतृत्वमा मात्रै सम्भव हुने पनि दाबी गरेका छन्। ‘कसैलाई मिठो नलाग्न पनि सक्छ। फेरि प्रचण्डकहाँ जाने भनेर लाज लाग्न सक्छ। लाज नमानौं। माओवादीहरुको पुनर्मिलन प्रचण्डको नेतृत्वमा मात्रै सम्भव छ।’ उनले भने, ‘मेरा कमजोरी भए पनि यथार्थ यही हो। यो राष्ट्र, वर्ग र जनताको आवश्यक्ता हो।’
अध्यक्ष प्रचण्डले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली इन्चार्ज ओमप्रकाश पुनसहितका ६७ जना नेता कार्यकर्ताहरुलाई माओवादी केन्द्रमा प्रवेश गराएका छन् ।







