Logo

माओवादीको विशेष रूपान्तरण अभियान समापन हुँदै



काठमाडौँ, १४ पुस । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारी बैठकले यही पुस १६ गते चारमहिने अभियान समापन गर्न निर्देशन दिएको छ ।

गत भदौ १६ गतेदेखि जनतासँग माओवादी विशेष रूपान्तरण अभियान देशैभरका छ हजार ७४३ वडामा एकै पटक सुरु भएको थियो । तर सात प्रदेशसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास समन्वय तीन गैरभौगोलिक प्रदेशले केन्द्रको निर्देशनबमोजिम आआफ्नो अनुकूलतामा समापन गर्ने तयारी गरेका छन् ।

माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलले ७५३ स्थानीय तहमा केन्द्रित भई पुस १६ गते जनपरिचालन र सभा गरेर समापन गर्न निर्देशन दिएको जानकारी दिए । “अभियानका बेला कार्यक्रम, भेला, समीक्षा, सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण, समिति गठन पुनर्गठन भएका छन् । त्यसबमोजिम अभियानलाई कार्य योजनामा ढालिने छ,” उनले भने, “चारमहिने अभियान समापनपछि स्थायी समिति बैठक बसेर समीक्षा हुने छ । लगत्तै फागुनमा विधान महाधिवेशन गरेर पार्टीलाई व्यवस्थित गर्ने छौँ ।”

पार्टी अभियान प्रभावकारी भएको बताउँदै उनले नेतृत्वलाई जनस्तरसम्म जोड्ने काम गरेको जिकिर गरे । “पार्टी अभियान एकदमै प्रभावकारी भयो । नेतृत्वलाई जनस्तरसम्म जोड्ने काम भयो । चुनाव जितेका क्षेत्रमा नेताकार्यकर्ता सक्रिय भई लागे,” पार्टी उपमहासचिव पोखरेलले भने, “जुन उचाइका साथ जनताको घर घर जाने भनिएको थियो, त्यो तहको अभियान हुन सकेन । सबै समर्थकको घरमा जाने भनिएको जान सकिएन ।” उनले पार्टीको चारमहिने अभियान सफल भएको निष्कर्ष निकालिएको बताए । उनले यस अभियानमा धेरै नेता, कार्यकर्ता, सहिद परिवार, बेपत्ता परिवार, घाइते, अपाङ्गसँग भेटेर साक्षात्कार गर्दा राम्रो सन्देश गएको बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

 

प्रतिक्रिया दिनुहोस्