पोखरा, २५ भदौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले माओवादी पार्टीप्रति जनताले धेरै आशा गरेको बताएका छन् ।
प्रेस सेन्टर नेपाल कास्की समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री पौडेलले माओवादीप्रति जनताको आशा धेरै रहेको बताएका हुन् ।
“जनयुद्धमा जनतालाई जुन सपना देखाएका थियौं, त्यसमा माओवादी टुटफुट र विभाजन हुँदा मुद्दा कमजोर हुने अवस्था आयो, उनले भने, “पार्टी कमजोर भए पनि माओवादीप्रति जनताले धेरै आशा गरेका छन् ।”
मन्त्री पौडेलले संघीयता, धर्मनिरपेक्षता, संविधानबाट संविधान जस्ता उपलब्धी माओवादीले ल्याएको बताउँदै प्रचार नगर्दा अर्केले फाइदा उठाएको बताए ।
“अहिलेको व्यवस्थामा माओवादीहरूले गर्व गर्नुपर्छ, किनकि नेपाल अहिले जुन राजनीतिक कोर्समा अगाडि बढेको छ, त्यो माओवादीकै लाइनमा छ,” उनले भने, “ संविधानसभाबाट संविधान, संघीयता, गणतन्त्र माओवादीका उपलब्धि हुन् । माओवादीको बाटोमा अरु सबै दल आएका हुन् । यति थुप्रै उपलब्धी प्राप्त गर्दा पनि माओवादीले प्रचार गर्न जानेन अरुले पिठा बिकाए, हामीले चामल बिकाउन सकेनौं ।”







