Logo

माओवादीले टुंग्यायो राष्ट्रियसभा सदस्यको उम्मेदवार



काठमाडौँ, २२ पुस । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभामा आफ्नो भागमा परेका ६ वटै सिटमा उम्मेदवारको नाम टुंगो लगाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले कोशीबाट महिला कोटामा चम्मादेवी कार्की, बागमतीमा अन्यतर्फ श्रीकृष्ण अधिकारी, गण्डकीमा महिलातर्फ मनरूपा शर्मा, लुम्बिनीमा अन्यमा झक्कु सुवेदी, कर्णालीमा दलित कोटामा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा महिला कोटामा रेणु चन्दको नाम टुंगो लगाएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

राष्ट्रिय सभामा रिक्त हुने १९ पदका लागि माघ ११ गते निर्वाचन हुँदैछ । त्यसका लागि भोलि उम्मेदवार दर्ता गर्ने कार्यतालिका छ ।

गठबन्धनले आज बिहान मात्रै सिटको भागबन्डा मिलाएको हो । भागबन्डाअनुसार आफ्नो भागमा ६ सिट परेपछि गठबन्धन बैठकलगत्तै पदाधिकारी बैठक बसेर माओवादी केन्द्रले उम्मेदवार टुंगो लगाएको हो ।

प्रतिक्रिया दिनुहोस्