काठमाडौँ, १२ चैत । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा एमाले माओवादीसँगको एकीकरणपछि सकिएको दाबी गरेका छन् ।
शनिवार काठमाडौँमा आयोजित नेकपा समाजवादी निकट समाजवादी प्रेस संगठन नेपालको केन्द्रिय कमिटी प्रथम विस्तारित बैठकमा बोल्दै पूर्व प्रधानमन्त्री खनालले यस्तो बताएका हुन् ।
उनले नेकपा एमाले भनेको इतिहास भएको भन्दै अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको पार्टी दक्षिणपन्थी अवसरवादको गुट भएको आरोप लगाए ।
पूर्व प्रधानमन्त्री खनालले नयाँ गुटले अहिले पनि देशभर नेकपा एमाले हौँ भनेर भ्रम छर्ने काम गरेको पनि बताए । उनले नेकपा एमालेमा रहेका नेता तथा कार्यकर्तालाई जनताको साथ दिइरहेको पार्टी नेकपा एकीकृत समाजवादीमा आउन पनि आग्रह गरे । उनले नेकपा एमालेले आगामी निर्वाचनमा दुई तिहाई सिट नभएर दुई तीन सिट मात्र ल्याउने दाबी गरेका थिए ।