काठमाडौँ, ८ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई र आफू एक अर्काको पुरक भएको बताएका छन् ।
काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनयुद्धको सहयात्री समेत रहेका बाबुरामसँग समाजवादको गोरेटो नयाँ पार्नको लागि सहकार्य गरेको बताएका हुन् ।
उनले माओवादीहरू अलग हुँदा जनयुद्धको उपलब्धि नै खतरामा परेको बताए ।
‘गत साल प्रतिनिधिसभा विघटनपछि संविधानमाथिको खतरा थियो । त्यसको प्रतिवाद गरेका थियौँ । अब संघ र प्रदेशको निर्वाचनमा जाँदैछौँ । निर्वाचन सफल हुनु नै ठुलो कुरा हो । निर्वाचन सफल हुँदा संविधान कार्यान्वयन हुन्छ’ उनले भने, ‘कुन पार्टीले कति सिट जित्छ त्यसले ठुलो अर्थ राख्दैन ।’
संविधान घोषणापछिको आफू र बाबुरामले अलग अलग प्रयोग गरेको भएपनि सफल नभएपछि फेरि एकै ठाउँमा जुटेको बताए ।
‘बाबुरामजी र मैले बेग्ला बेग्लै प्रयास गर्यौं । उहाँ आफ्नो पार्टी गठनमा लाग्नुभयो । म एमालेसँग एकता गरेर नयाँ प्रयोग गरेँ । दुवैको उद्देश्य पुरा भएन’ उनले भने, ‘हामी अलग अलग प्रयोग गर्न हिँड्दा माओवादीले ल्याएको उपलब्धि धरापमा पर्यो । त्यसैले हामी दुवै पक्षले गम्भीर समीक्षा नगरेर देश अराजकतातिर जाने खतरा महशुस गरेका छौँ । हामी अलग हुँदा प्रतिगमनले टाउको उठाउन खोज्यो ।’
आफूहरु अलग भएपछि नेपाली क्रान्तिलाई सफल बनाउन नसक्ने निष्कर्ष निकालेको समेत उनले बताए। प्रचण्ड र बाबुरामको नाम जनताको ठुलो बलिदानीबाट आएको उनको दाबी छ ।







