काठमाडौँ, २८ भदौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको प्रतिनिधिमण्डल र नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुबीच भेटवार्ता भएको छ ।
सङघीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान उनीहरुबीच शिष्टाचार भेटवार्ता सुरु भएको हो । भेटवार्तामा द्विपक्षीय हित र आपसी चासोका बारेमा छलफल भएको जनाइएको छ ।
भेटमा माओवादीका तर्फबाट अध्यक्ष दाहालसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवद्वय पम्फा भुसाल र शक्तिबहादुर बस्नेत, नेताहरु राम कार्की र रमेश मल्लको सहभागिता थियो ।
चिनियाँ प्रतिनिधिमण्डलले नेपालको औपचारिक भ्रमणका क्रममा भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुनःनिर्माण भएका संरचनाको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । अध्यक्ष लीको नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अध्यक्ष ली भ्रमण सम्पन्न गरी यही भदौ ३० गते बिहीबार बिहान विशेष विमानबाटै स्वदेश फर्कने कार्यक्रम छ ।







