Logo

माओवादी अध्यक्ष प्रचण्ड गोरखा–२ बाट चुनाव लड्ने



काठमाडौँ, २२ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा क्षेत्र नं २ बाट निर्वाचन लड्ने भएका छन् । माओवादीको शुत्रबार बसेको पदाधिकारी बैठकले अध्यक्ष प्रचण्ड गोरखा क्षेत्र नं २ बाट निर्वाचन लड्ने निर्णय गरेको सचिव गणेश साहले जानकारी दिए ।

गोरखा क्षेत्र नं २ को प्रदेशसभातर्फ माओवादी र नेपाली कांग्रेसको उम्मेदवार बन्ने बताइएको छ । गोरखा क्षेत्र नं २ मा २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा माओवादी केन्द्र विजयी भएको थियो । विसं २०६४ मा माओवादी नेता डा बाबुराम भट्टराई विजयी भएका थिए । यस्तै २०७० सालमा माओवादी केन्द्रका नेता हितराज पाण्डे सोही क्षेत्रबाट विजयी भएका थिए ।

विसं २०७४ को निर्वाचनमा नेपाली कांग्रेसको सहयोगमा डा भट्टराई पुनः निर्वाचित भए । डा भट्टराईले आसन्न निर्वाचनमा प्रतिस्पार्धा नगर्ने सार्वजनिक गरिसकेका छन् । अध्यक्ष प्रचण्ड २०७४ सालको निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट विजयी भएका हुन् ।

पदाधिकारी बैठकमा अध्यक्ष दाहालले सिट बाँडफाँटका बारेमा गठबन्धनमा भएको छलफलको व्रिफिङ गराउनुभएको थियो । अध्यक्ष दाहालले प्रतिनिधिसभातर्फ करिब ४७ सिट माओवादीले पाएको र अझै केही सिटको बाँडफाँट अन्तिम टुङ्गोमा पुग्न बाँकी रहेको जानकारी गराउनुभएको सचिव साहले जानकारी दिनुभयो । “बैठकमा अध्यक्ष दाहालले गठबन्धन बैठकमा भएको सिट बाँडफाँटका बारेमा जानकारी गराउनुभयो”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्