Logo

माओवादी आन्दोलनका सबै समूह एक ठाउँमा उभिऔँ ः प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनका सबै समूह र धारलाई एक ठाउँमा आउन आह्वान गरेका छन् ।

जनयुद्धकालीन माओवादी नेताहरु डा बाबुराम भट्टराई, नेत्रविक्रम चन्द, धर्मेन्द्र बाँस्तोलालगायत नेताहरु उपस्थित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले माओवादी आन्दोलनका सबै समूहलाई पार्टी एकतामा आउन आग्रह गरेका हुन् ।

माओवादीले हरेक वर्ष फागुन १४ देखि २१ गतेसम्म मनाउँदै आएको सहिद सप्ताहको आज अन्तिम दिन ‘सहिद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशन’द्वारा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै उनले माओवादी आन्दोलन कमजोर नभए पनि विभिन्न धार र भङ्गालामा बाँडिएपछि प्रभाव घटेका कारण पुनः एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याए ।

वर्तमान सरकारले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिएको तथा सहिद घोषणाका लागि राजपत्रमा सूचना प्रकाशित गर्नेलगायत निर्णय गरेपछि केही शक्तिलाई सह्य नभएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । उनले यतिबेला चर्को बोल्ने भन्दा पनि काम गर्ने समय भएको जिकिर गरे ।

उनले भने, “सरकारका तर्फबाट जनयुद्ध, जनआन्दोलन र त्यस आन्दोलनमा सहादत प्राप्त गर्ने सहिद र बेपत्ता योद्धालाई सम्मान गर्ने काम एकपछि अर्को गर्दै अघि बढेको छ । त्यसमा प्रतिक्रियावादी आतङ्कित भएका छन् । तिनीहरु फेरि एक पटक माओवादीसँग तर्सिएका छन् । माओवादीका नाममा तथानाम गालीगलौज गर्न थालेका छन् ।”

प्रधानमन्त्री प्रचण्डले यो बेला चर्को बोल्ने समय नभई काम गर्ने समय भएकाले आफू केन्द्रित भएको बताए । उनले भने, “कामबाटै प्रतिक्रियावादी शक्तिविरुद्ध लडिरहेको छु ।” प्रधानमन्त्री प्रचण्डले केही ‘भूत प्रेत’ निक्लिँदैमा इतिहास र त्यागको कीर्तिमान कायम गरेका महान सहिद नसिद्धिने बरु ज्यूँदो जाग्दो भएर आउने उल्लेख गरे ।

माओवादीविरुद्ध निरन्तर षड्यन्त्र भइरहेकाले आफ्ना तर्फबाट भ्रम चिर्न प्रधानमन्त्री प्रचण्डले सबैलाई आग्रह गरे । उनले भने, “प्रतिक्रियावादी भ्रम छर्ने, घेरा हाल्ने र सखाप पार्ने रणनीतिमा छन्, माओवादीले भ्रम चिर्ने, घेरा तोड्ने र प्रतिरोध गर्ने हो, यो काम माओवादीले विगतदेखि नै गर्दै आएको छ ।”

सबै माओवादी एक ठाउँमा उभिएर जनतालाई अपिल गर्ने, सहिद तथा बेपत्ताको सपना र भावनालाई पूरा गर्ने सङ्कल्प गर्ने हो भने त्यो विजयको दिन हुने प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्