Logo

माओवादी कार्यकर्ताको घरमा विस्फोट: बालिकाको मृत्यु, घाइते दुईमध्ये एकको अवस्था चिन्ताजनक



पाँचथर, १४ भदौ । पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङबुङको डाँडागाउँस्थित माओवादी कार्यकर्ताको घरमा बिहीबार बम विस्फोट हुँदा अढाई वर्षीया बालिकाको मृत्यु भएको छ । घाइते दुई बालकमध्ये एकको अवस्था चिन्ताजनक छ ।

माओवादी कार्यकर्ता आइतराज केरुङ (आईबी) को घरमा बस्दै आएका ज्ञानबहादुर राईका १० वर्षीय छोरा पवन, स्थानीय दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाई वर्षीया छोरी प्रिन्सा घाइते भएका थिए ।

दिप्सन र प्रिन्साको पाँचथर अस्पतालमा उपचार हुन नसकेपछि झापाको बीएन्डसी मेडिकल कलेज ‘रेफर’ गरिएको थियो । थप उपचारका लागि लैजाँदै गर्दा इलाम पुगेपछि बालिका प्रिन्साको मृत्यु भएको थियो । दिप्सनलाई राति साढे १२ बजे बीएन्डसी अस्पताल पुर्‍याइएको छ ।

पाँचथर जिल्ला अस्पतालकी चिकित्सक डा। एलिसा खनालका अनुसार दिप्सनको शरीर ९० प्रतिशत जलेको छ । पवनको शरीरमा छर्राले लागेका १५ भन्दा धेरै चोट छन् । उनको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । विस्फोट अपराह्न ३ बजे भएको थियो । ‘बारीमा काम गरिरहेका थियौं, ठूलो आवाजसहित धूवाँको मुस्लो उडेको देखियो, दुगुर्दै आउँदा तीन जना नानीहरू तीनतिर ढलिरहेका थिए, छेउमा मेरो भाइ बेहोस अवस्थामा थियो,’ दिप्सन र प्रिन्साकी आमा पूजा केरुङले भनिन् ।

विस्फोटको आवाज सुनेपछि हेर्न गएका पूजाका भाइ (प्रिन्सा दिप्सनका मामा) सेसेहाङ केरुङ भान्जाभान्जीको अवस्था देखेर बेहोस भएका थिए । उनलाई पनि उपचार लागि पाँचथर अस्पतालमा ल्याइएको छ ।

घाइतेमध्ये दिप्सन श्री कालिका मावि प्राङवुङको कक्षा ६ मा अध्ययनरत छन् भने पवन सोही विद्यालयको कक्षा ४ का विद्यार्थी हुन् । घाइते पवनका अनुसार खेलिरहेका बेला घरको ‘लाछी’ बाट गोलो देखिने वस्तु घर पछाडि बलेसीमा झरेपछि दिप्सनले चलाउन खोज्दा विस्फोट भएको थियो ।

माओवादी कार्यकर्ता केरुङको त्यस घरमा स्थानीय ज्ञानबहादुरको परिवार बस्दै आएको थियो । केरुङ परिवार भने २०६८ देखि सदरमुकाम फिदिममा बसिरहेको छ । फिदिमबाट ४२ किमि टाढाको उक्त गाउँबाट घाइतेलाई उद्धार गरी सदरमुकामस्थित अस्पताल ल्याइपुर्‍याउँदा साँझ साढे सात बजिसकेको थियो । कच्ची बाटो भएकाले गाडीलाई चार घण्टाभन्दा बढी समय लागेको थियो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी हेमन्त भण्डारीका अनुसार विस्फोट भएको वस्तु घरेलु ‘ग्रिनेड’ रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । विस्फोट भएको घरनजिकै अर्को एउटा शंकास्पद वस्तुसमेत भेटिएको छ । ‘साँझको समय भएकाले उक्त वस्तु डिस्पोज गराइएको छैन, बिहान नेपाली सेनाको टोली पुगेपछि यकिन हुनेछ,’ डीएसपी भण्डारीले भने ।

स्थानीयले द्वन्द्वका समयमा माओवादीले लुकाएर राखेको बम पड्केको बताएका छन् । ‘त्यो घर द्वन्द्वका समयमा माओवादीको सेल्टरका रूपमा प्रयोग हुन्थ्यो, सेना प्रहरीको पनि निगरानीमा पर्थ्यो । त्यही बेला राखेको बम पड्किएको हुन सक्छ,’ एक स्थानीयले भने । १० वर्षे सशस्त्र द्वन्द्व छाडेर माओवादी शान्तिप्रक्रियामा आएकै करिब दुई दशक हुँदासम्म पनि त्यस द्वन्द्वको मारमा सर्वसाधारणले ज्यान गुमाउनुपरेको उनले बताए ।

माओवादीको संगठन फाँटमा लामो समय काम गरेका घरधनी आइतराज केरुङले विस्फोट घटनाले आफू स्तब्ध भएको बताएका छन् । ‘कतै द्वन्द्वका समयमा लुकाएर राखेको वस्तु बिर्सनु त भएको थिएन रु’ भन्ने प्रश्नमा उनले भने, ‘बम लुकाएर छोडेको ठ्याक्कै याद छैन, माओवादी मात्र नभएर सेना प्रहरीले पनि राम्रै चहलपहल गरेको घर हो । यसै भन्न सक्दिनँ । घटनास्थल गएर वस्तुस्थिति अध्ययन गर्छु ।’

विस्फोट भएलगत्तै अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रुपेश तामाङको कमान्डमा टोली घटनास्थल पुगेको छ । उक्त स्थलमा भेटिएको अर्को शंकास्पद वस्तुलाई रातभर घेराबन्दी गरेर राख्ने र शुक्रबार डिस्पोज गरेपछि थप अनुसन्धान थालिने डीएसपी भण्डारीले बताए, कान्तिपुर दैनिकमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्