Logo

माओवादी केन्द्रका उपमहासचिव पुन अस्पताल भर्ना



काठमाडौँ, ३० पुस । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।

माघी पर्वका लागि गृहजिल्ला रोल्पा पुगेका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि ललितपुरमा रहेको सुमेरु अस्पतालमा भर्ना भएका हुन् ।

गएको मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपश्चात् जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन उपमहासचिव पुन केही दिनपहिले रोल्पा पुगेका थिए ।

रोल्पा पुगेका नेता पुनको स्वास्थ्यमा समस्या देखिनासाथ हेलिकप्टरबाट अस्पताल ल्याइएको उनको सचिवालयले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उनले केही समय पहिले चीनको एक अस्पतालमा स्वास्थ्य उपचार गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्