
काठमाडौँ, २३ असार । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी ४१ सदस्यीय हुने भएको छ ।
काठमाडौँमा चलिरहेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटीका सदस्यका एक तिहाइसम्म स्थायी कमिटी सदस्य बनाउन सकिने विधानमा भएको व्यवस्थाअनुसार ४१ सदस्यीय स्थायी कमिटी हुने जानकारी दिए ।
प्रचण्डले आफूसहित नारायणणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गणेश शाह, गिरिराजमणि पोखरेल, चक्रपाणि खनाल, जनार्दन शर्मा, देव गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाल, वर्षमान पुन, मात्रिका यादव, लीलामणि पोखरेल, शक्तिबहादुर बस्नेत र हरिबोल गजुरेलको नाम टुङ्गिएको र बाँकीको पनि चाँडै टुङ्ग्याउने बताए ।
यसैबीच माओवादीको पोलिटब्युरो कमिटी एक सय ५६ सदस्यीय हुने भएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघि एक सय २५ जनाको नाम वाचन गरेका थिए । तर पार्टीमा लामो समय योगदान गरेका नेताहरूको नाम पोलिटब्युरोमा समावेश नभएको भन्दै विरोध भएपछि बैठक एक घण्टाको लागि स्थगित भएको थियो ।
विरोधपछि प्रचण्डले एक सय २५ जना पोलिटब्युरो सदस्य रहने र बाँकी ३१ जना वैकल्पिक सदस्यको रूपमा रहने भन्दै विवाद मिलाएका छन् ।







