Logo

माओवादी केन्द्रले निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने



काठमाडौँ, १८ जेठ । नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ ।

आज र भोलि काठमाडौँ कमलपोखरीस्थित पुरानो कुमारी हलमा प्रशिक्षण हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।

उनका अनुसार जनप्रतिनिधिलाई स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले प्रशिक्षणको आयोजना गरिएको हो । प्रशिक्षणको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान ११ बजे उद्घाटन गर्नेछन् ।

नवनिर्वाचित पालिका प्रमुख उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, निर्वाचित केही स्वतन्त्र उम्मेदवार गरी २६० जनप्रतिनिधि र पार्टीका नेता एवं पूर्व स्थायी समिति सदस्यहरु प्रशिक्षणमा सहभागी रहने मुख्यसचिव ढकालले बताए ।

उद्घाटन सत्रमा अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले राजनीतिक प्रशिक्षण दिने र लगत्तै पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधानले ‘स्थानीय सरकारको कानूनी क्षेत्राधिकार, काम, कर्तव्य र अधिकार’ विषयमा प्रशिक्षण दिने तय भएको माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्