काठमाडौँ, १ भदौ । नेकपा (माओवादी केन्द्र)ले बिहीवार पार्टी पदाधिकारीको टुङ्गो लगाउने भएको छ ।
आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा पदाधिकारीको बारेमा छलफल भएको र बिहीवार बस्ने बैठकले पदाधिकारीको टुङ्गो लगाउने भएको हो ।
बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले आजको बैठकमा सङ्गठनसम्बन्धी एजेन्डामा केन्द्रित भएको बताए ।
उनले केन्द्रीय कमिटीपछि स्थायी कमिटीले टुङ्गो लगाउनुपर्ने कुरा र केन्द्रीय कमिटीमा थप्नुपर्ने सदस्य, पोलिटब्युरोमा थप्नुपर्ने सदस्य र पदाधिकारीका बारेमा छलफल सुरु भएको बताए ।
उनले भने, ‘आजको बैठकबाट पदाधिकारीबारे करिब–करिब हामी टुङ्गोमा पुगेका छौँ । भोलि सबै टुङ्गो लाग्छ ।’







