
काठमाडौँ, ७ असार । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।
यही असार २३ गतेदेखि राजधानीको प्रज्ञा-प्रतिष्ठानमा बस्ने गरी बैठक बोलाइएको छ ।
उक्त बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, आयोगका सदस्य र प्रदेशका पदाधिकारी गरी करिब सात सय सहभागी हुने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।
केन्द्रीय सदस्य तीन सय ८६ र वैकल्पिक केन्द्रीय सदस्य दुई सय दुई गरी माओवादीको केन्द्रीय समिति पाँच सय ८८ सदस्यीय रहेको छ । माओवादीमा तीन आयोग, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेश रहेका छन् ।
माओवादीले भुक्तानी गर्नुपर्ने बक्यौता तथा लेबी समयमै पूरा गर्न मातहतका सङ्गठनलाई निर्देशन दिएको छ । लामो समयदेखि माओवादीको केन्द्रीय समिति बैठक बस्न सकेको छैन । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएपछि ‘भर्चुअल’ रुपमा केन्द्रीय समिति बैठक बसेको थियो ।
यसअघि गत वर्ष असारमा केन्द्रीय समिति बैठक बसेको थियो । गत मङ्सिरमा सङ्घ र प्रदेशको निर्वाचन, नयाँ सरकार गठन, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका कारण बैठक बस्न नसकेको माओवादीले जनाएको छ ।
त्यस्तै बैठकमा विचार मिल्ने राजनीतिक दलसँगको एकताका साथै नवगठित समाजवादी मोर्चाका सन्दर्भमा पनि छलफल हुने उनले जानकारी दिए ।
उनले पार्टी सदस्यता नवीकरण तथा व्यवस्थित गर्ने, कार्यविभाजनलाई टुङ्गो लगाउने विषयमा पनि बैठकमा छलफल हुने जानकारी दिए ।





