Logo

माओवादी केन्द्रले सरकारको नेतृत्व गरेकोमा खुसी लागेको छ: विप्लव



काठमाडौँ, ८ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अहिले नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकार भएकोमा खुसी लागेको बताएका छन् ।

माओवादी केन्द्रको महासचिव बन्ने चर्चा भइरहेका बेला उनले सो प्रतिक्रिया दिएका हुन् ।

सोमबार काठमाडौँ आयोजित ‘समाजवादी यात्राको चुनौती: भ्रष्टाचार र दण्डहीनता’ विषयक प्रवचन गोष्ठीमा बोल्दै उनले अहिलेको भ्रष्टाचार विरोधी अभियानमा माओवादी केन्द्र नेतृत्वको सरकारमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ हुनु, त्यसमा उपेन्द्र यादवसहितका दलहरु सहभागी हुनु खुसीको कुरा भएको बताए ।

भ्रष्टाचार विरोधी लडाइँमा सरकार आफै सहभागी हुनु रामो कुरा भएको उल्लेख गर्दै महासचिव विप्लवले त्यसका लागि सरकारलाई आफ्नो पार्टीले सडकबाट जनतालाई एकीकृत गरेर साथ दिइरहेको दाबी समेत गरेका थिए ।

श्रेष्ठ गृहमन्त्री भएको भए तत्कालीन समयमा आफ्नो पार्टीमाथि प्रतिबन्ध लाग्दैन थियो कि भन्ने अहिले आफूलाई लागिरहेको उनले बताएका हुन् ।

“हामीले भनेका छौँ- सरकारले त्यो लडाइँ लडनुपर्छ । सडकबाट हाम्रो पार्टीले जनतालाई एकीकृत गरेर त्यसमा साथ दिन्छ । र, हामीले दिएका पनि छौं,” उनले भने, “यो सही कुरा हो । र, यो स्मरणीय कुरा के भएको छ भने हाम्रो पार्टीलाई प्रतिबन्ध लाग्नुभन्दा पहिला नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएको भए सायद लाग्दैन थियो होला भन्ने पनि मलाई अहिले सम्झना भइरहेको छ ।”

प्रतिक्रिया दिनुहोस्