काठमाडौँ, ३ चैत । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी नेसपाबीच पार्टी एकताको सहमति भएको छ ।
शनिबार बिहान बसेको दुई पार्टीको शीर्ष तहबीचको बैठकले दुई पार्टीबीच एकताको सहमति जुटाएका हो ।
माओवादी केन्द्रका महासचिव देव गुरुङ र नेसपाका महासचिव रमेशप्रसाद यादवको संयुक्त हस्ताक्षरमा सहमति पत्र सार्वजनिक गरिएको छ । वक्तव्यमा भनिएको छ, ‘बैठकले दुवै पार्टीका बीचमा पार्टी एकता गर्ने सहमति गरेको छ, एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनमा टुंगो लगाउने निर्णय गरिएको छ ।’
बैठकमा नेकपा माओवादी केन्द्रका तर्फबाट प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरुङ सहभागी थिए भने नेसपाका तर्फबाट अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव उपस्थित थिए । तर, नेसपाका अर्का अध्यक्ष डा.बाबुराम भट्टराई भने सहभागी थिएनन् ।
डा.बाबुराम भट्टराईले नेसपाबाट निर्वाचित सांसदलाई माओवादीबाट अलग गर्न निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् । यसैबेला प्रचण्डले उक्त पार्टीका सांसदहरुलाई आफ्नै पार्टीमा समायोजन गराएका हुन् ।






